
२१ फागुन २०७५, काठमाडौँ
झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिएको अभियोगमा पर्वत जिल्ला अदालतले बाबुछोरालाई जरिवानासहित कैद सजाय सुनाएको छ ।
तनहुँ जिल्ला साविकको माझकोट गाविस–२ घर भई पोखरामा डेरा लिई बस्दै आएका दलबहादुर कुमाल र उनका छोरा सुजन थापा र मीनबहादुर कुमाललाई पर्वत जिल्ला अदालतले कसुर ठहर गरी सजाय सुनाएको हो ।
उक्त विषयमा प्रहरीले सोधपुछ गर्दा निज कुमालले आफूले झुट्टा विवरण पेश गरी नागरिकता लिएको स्वीकार गरेपछि सोही प्रमाणका आधारमा कुमाललाई जिल्ला अदालत पर्वतबाट झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिएको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
पर्वत जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले मुख्य आरोपी मीनबहादुर कुमाललाई एक वर्ष दुई महिना कैद सजायसँगै रु २० हजार जरिवाना सजाय सुनाएको छ भने उनका बाबु दलबहादुरलाई एक वर्ष कैद सजायसँगै रु २० हजार जरिवाना र नागरिकता प्रमाणपत्र बनाउनका लागि सिफारिश गर्ने तत्कालीन पर्वत जिल्ला कुर्घा गाविसका सचिव पिताम्बर शर्मालाई रु १५ हजार जरिवानाको फैसला सुनाएको छ ।
सोही घटनामा संलग्न रहेको आरोपमा पर्वत जिल्ला अदालतबाट मुद्दा खेपिरहेका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी गोपीकृष्ण ढुङ्गाना र नागरिकता फाँटका कर्मचारी लोकनारायण लामिछानेलाई अदालतले सफाइ दिएको छ ।





