
२० फागुन २०७५, काठमाडौं
महाशिवरात्रीका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा दर्शन तथा पुजाआजा गर्नेको बाक्लो भिड लागेको छ ।

बिहानैदेखि पशुपतिमा हजारौं देश तथा विदेशबाट आएका भक्तजनहरु भगवान शिवको दर्शनका लागि सबथोक त्यागी लाईनमा बसेका छन् । बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

आज पशुपति मूल मन्दिर प्रवेशका लागि बाहिरबाट तीन मूल मन्दिर परिसरमा प्रवेश गरेपछि पाँच लाइनको व्यवस्था गरिएको छ ।

जेष्ठ नागरिक र अशक्तले भने पशुपतिनाथ मन्दिरमा दर्शन गर्न लाइनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाइएको कोषले बताएको छ । दर्शनका लागि कुनै पनि किसिमका पासको व्यवस्था नगरिएकाले अन्य सबैले लाइन बसेरै दर्शन गर्नुपर्ने छ ।

धार्मिक रूपमा गाँजालाई शिवजीको प्रसाद मानिन्छ । शिवरात्रीमा बाबा तथा जोगीहरूले गाँजा सेवन गर्दै आएका छन् ।

शिवरात्रीको अवसरमा पहिले–पहिले सरकारी स्तरबाटै जोगी र बाबालाई गाँजा दिइन्थ्यो । गत वर्षदेखि पशुपति परिसरमा गाँजा निषेध गरिएको छ । उक्त बन्देजमा धेरै बाबा तथा जोगीहरुले असन्तुष्टि जनाएका थिए ।






