
२० फागुन २०७५, काठमाडौँ
बाह्र बुँदे घोषणा–पत्र जारी गर्दै राष्ट्रिय युवा सम्मेलन सम्पन्न भएको छ ।
अल्पसंख्यक सिमान्तकृतका युवाहरुको विविध विषयमा बृहत छलफल गर्ने उद्देश्यले युथ एड्भोकेशी नेपाल, एक्सन एड नेपाल, व्राईटन युनिभर्सीटी, गोल्डस्मित युनिभर्सीटी लगायतका संघ÷संस्थाद्धारा यहाँ आज आयोजित एक दिने सम्मेलनले युवाहरुको सर्वाङगिण विकासको लागि कुल बजेटको कम्तिमा १० प्रतिशत रकम युवामा लगानी गर्नुपर्ने माग गर्दै सम्पन्न भएको हो । नेपालको कुल जनसंख्याको ४०.३५ प्रतिशत जनसंख्या युवाको जनसंख्या रहेको छ ।

राज्यका सम्पूर्ण तह र तप्कामा सिमान्तकृत तथा अल्पसंख्यक युवाहरुको अर्थपूर्ण प्रतिनिधित्व, सहभागिा र नेतृत्व सुनिश्चित गर्नु र वृहत्तर यौनिकता शिक्षा, यौन तथा प्रजनन शिक्षा र सेवामा युवाहरुको सहज पहुँच सुनिश्चित गर्नुपर्ने मागसहितको सो घोषणा–पत्र आजै युवाहरुले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमित्सीनालाई बुझाउनुभयो ।

“प्रत्येक स्थानीय तहमा युवाहरुलाई मार्गदर्शन, परामर्श र सूचना प्रदान गर्नका लागि आवश्यक संयन्त्रको विकास गर्नुका साथै सडकमा आश्रित युवाहरुको कानूनी रुपले दस्तावेजीकरण गरी आधारभूत अभिकारको परिपूर्तिको सुनिश्चित गरियोस्”–घोषणा–पत्रमा उल्लेख गरिएको छ ।

सोही अवसरमा अध्यक्ष तिमिल्सिनाले संविधान कार्यान्वयनसँगै मुलुकलाई सामाजिक न्यायसहितको सम्वृद्ध नेपाल निर्माण गर्दै युवाहरुलाई स्वेदेशमै रोजगारीको सिर्जना गर्ने उद्देश्यले वर्तमान सरकार निर्माण भएको बताउनुभयो । देशभित्रै युवाहरुलाई रोजगारीको सिर्जना गर्नका लागि निर्वाहमुखि कृषि प्रणालीलाई विस्तापित गर्दै आधुनिक कृषि प्रणालीलाई स्थापित गर्नुपर्ने अध्यक्ष मितिल्सिनाको भनाइ छ ।

युथ एड्भोकेशी नेपालका अध्यक्ष नरेन खतिवडाले सिमान्तकृत तथा जोखिममा रहेका युवाहरुका निम्ति रोजगारमूलक तालिम तथा सीप विकास कार्यक्रम स्थानीय स्तरबाटै लागू गर्नुपर्नेमा जोड दिनुभयो । युवाहरुले वैदेशिक रोजगारमा जाने युवाहरुको सुरक्षा, सम्मानपूर्ण काम र स्वतन्त्रताको अधिकारको सुनिश्चितता र यौनिक तथा लैंगिक अल्पसंख्यकको सहभागिा र वैवाहिक जीवनको अधिकारको सुनिश्चिता हुनुपर्ने लगायत विभिन्न माग राख्दै आएका छन् । कार्यक्रममा एक्सन एड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले प्रमुख अथिति, अथिति तथा सहभागीहरुलाई धन्यवाद दिदै सम्मेलन समापन गर्नु भएको थियो ।






