समय सकिएपछि पुल निर्माण सुरु



२० फागुन २०७५, संखुवासभाका

संखुवासभाको पाँचखपन नगरपालिका प्रवेश मार्गको मूख्य नाकाको रुपमा रहेको हेवाँ खोलामा पक्की पुल निर्माणका लागि तीन वर्ष अघि ठेक्का सम्झौता भएको थियो । पुल निर्माणका लागी सडक डिभिजन कार्यालय तुम्लिङटारले स्थानीय सडक पुल १५७ शिर्षकबाट बजेट छुट्याएको थियो ।

पुल निर्माणका लागी भ्याट बाहेक ४ करोड ५ लाख २९ हजार ७ सय ७ रुपैंया ८५ पैसामा २०७३ भदौ २४ गते पुष्पाञ्जली कन्स्ट्रक्सन प्रा.लि. घट्टेकुलो काठमाडाँैलाई ठेक्का दिएको थियोे । २०७३ पुस २९ गते पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले शिलान्यास गरेको उक्त पुल २०७५ असोज ८ गते निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । पुल निर्माण सम्झौता गरेको तीन वर्ष बिते पनि काम भने शुन्य जस्तै छ ।

निर्माण सम्झौता सकिएको ४ महिना पछी ठेकेदार कम्पनीले फाउन्डेशनको काम सुरु गरेको छ । ३० मिटर लम्बाई रहेको यो पुल निर्माण नहुँदा यहाँका स्थानीय वर्षेनी सास्ती खेपी रहेका छन् । वर्षायाम सुरु भएसंगै पाँचखपन नगरपालिका यातायात तथा ढुवानी सेवाबाट वञ्चित हुने गरेका छन् । पुल अभावका कारण स्थानीयहरु वर्षेनी महँगीको मारमा पर्ने गरेका छन् ।

वर्ख समयमा आवत जावतका लागी बाँस तथा काठको फड्के राख्ने गरिएको छ । तर बाढी आउँदा फड्के समेत बगाए पछी १ घण्टा लामो बाटो घुम्नु पर्ने स्थानीय शेर कुमार कार्कीले बताए । वर्षायाम संगै लक्कडी व्यवसाय पनि थप्प हुने व्यवसायी निमाठिले शेर्पाले बताए ।

यो वर्ष पनि पुल नबन्ने पक्का भएपछि पाँचखपन नगर कार्यपालिकाले सडक डिभिजन कार्यालय तुम्लिङटारमा गत साउन २८ गते ज्ञापन पत्र समेत बुझाएको थियो । वर्षायाम सुरु हुन लागेकोले यो वर्ष पनि पाँचखपन नगरबासी यातायात तथा ढुवानी सेवाबाट वञ्चित हुनुपर्ने बाध्यता रहेको मेयर विपिन राईले बताए ।

गत वर्ष फाउन्डेशनको काम सुरु गर्दा कडा चट्टान भेटिएको भन्दै ठेकेदार कम्पनीले डिभिजन कार्यालयलाई जानकारी गराएको सब ईन्जिनियर लक्ष्मी राईले बताइन् । सोही समय बाढीका कारण फाउन्डेशन पुरिएको कम्पनीले जनाएको छ । फाउन्डेशन गर्दा लेदो माटो र निरन्तर पानी आइरहेकोले निर्माण कार्यमा ढिलाई भएको ठेकेदार रत्नेश्वर शाक्यले बताए ।

डिभिजन कार्यालयले संखुवासभामा एकै समयमा विभिन्न स्थानमा तीन ओटा पक्की पुल निर्माणका लागी ठेक्का लगाएको थियो । उक्त पुलहरु मध्ये माया खोला पुलको ८३ प्रतिशत काम सम्पन्न भएको कार्यालयले जनाएको छ । उक्त पुल बिटी निर्माण सेवाले ठेक्का लिएको हो । यस्तै यावरा खोला पुल निर्माणको जिम्मा पाएको कुङसालिङ कन्स्ट्रक्सन प्रा.लि.ले पनि हालै मात्र फाउन्डेशनको काम गरिरहेको कार्यालयले जनाएको छ ।

एकै समयमा सम्पन्न गर्न ठेक्का लगाइएको तीन ओटै पुलको काम भने सम्पन्न हुन सकेको छैन । निर्माणका कार्यका लागी समय थप गर्ने या नगर्ने कुनै निर्णय नभएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्