
२० फागुन २०७५, इटहरी
हिन्दु, किराँत र बौद्ध धर्मावलम्बीहरुको ‘त्रिधार्मीक हव’ हलेसी महादेव मन्दिरमा पूर्वाधारको निमार्णमा स्थानीय सरकारले ध्यान दिएसँगै भक्तजनको संख्यामा बृद्धी भएको छ ।
यस थलोलाई हिन्दु धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी र किराँत धर्मावलम्बीले आदिम भूमि ठान्छन् । पूर्वको पशुपतिका नामले समेत परिचित खोटाङको धार्मिक केन्द्र हलेसीमा सोमवार शिवरात्री मेलाको अवसरमा भक्तजनको ठुलो भिड लागेको छ ।
हलेसी तुवाचुङ नगरपालिकामा रहेको उक्त धार्मिक केन्द्रमा वर्षमा बालाचतुर्दशी र शिवरात्रीका दिन गरि दुई पटक मेला लाग्ने गर्दछ । धार्मिक आस्थाको केन्द्रको रूपमा मानिने उक्त क्षेत्रमा चिताएको कुरा पुरा हुन्छ भन्ने विश्वासले वर्षेर्नी मेलामा सर्वसाधारणको घुइँचो लाग्ने गरेको हो । शिवरात्री पर्व मनाउन र धर्मको आस्था राखी मनोकांक्षा पुरा हुने विश्वासले देश तथा विदेशबाट भक्तजनहरूको बाक्लो घुइँचो लागेको छ । मेला भर्न तथा दर्शन गर्न नेपाल बाहेक भारतका सिक्किम, दार्जिलिङ्ग, विहार, नयाँदिल्ली, चीन, तिब्बत, भुटान लगायतका देशबाट दर्शनार्थीहरु हलेसीमा आएका छन् ।
हलेशी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले मेला परम्परा देखिनै मनाईदै आएको बताए । मेलामा शान्ति सु–व्यवस्था कायम गर्नका लागि नेपाली सेना, प्रहरी र स्वयंसेवक खटाइएको उनले बताए ।
हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने र महादेव गुफा, बसासा गुफा, गर्दुङ गुफा, भैरव गुफा, दुँदेलो गुफा, धर्मद्वार, पापद्वार लगायतका प्राकृतिक स्थान अवलोकन गर्न पर्यटक तथा भक्तजनहरूको बाक्लो भीड लागेको छ । समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको ‘हलेसी गुफा’ २६ रोपनी क्षेत्रफमा फैलिएको छ । यस क्षेत्रलाई बिश्व सम्पदा सूचिमा सूचिकृत गर्ने उद्देश्यले हाल गुरु योजना निमार्णको काम भईरहेको छ ।





