पुरानै व्यवस्था फर्काउने पक्षमा राप्रपा पनि छैन : अध्यक्ष थापा



१७ फागुन २०७५, काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले सञ्चालन गरिरहेको राष्ट्रिय स्वाभिमान यात्रा एउटा व्यक्ति वा संस्थाको हित गर्न नभई राष्ट्र जोगाउन भएको बताएको छ । यात्राका क्रममा इटहरीमा भएको कार्यक्रमलाई सम्बोधन गर्न आएका राप्रपा अध्यक्ष कमल थापाले सडकमा नै पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । अभियान देशका विकृति र देश टुक्राउन लाग्नेका विरुद्ध भएको समेत अध्यक्ष थापाले बताए ।

शान्तीइ स्थापना पछिको १२ वर्ष जनताले अनुभव गरेको बताउँदै थापाले शान्ति पक्रिया टुङ्गियो भनेका बेला अर्को माओवादीको जन्म हुनुले यो पद्धतिको अभ्यासमा कुनै त्रटी भएको स्पष्ट भएको थापाको भनाई छ । ‘एउटा माओवादी जन्मियो, देशको राजनीति यस्तो छ । अर्को तर्फ विदेशीको हस्तक्षेपले देशको अर्थतन्त्र गिर्दो छ ।’ अध्यक्ष थापाले भने ‘अव हामी सङ्घीयता, धर्म निरपेक्षता र गणतन्त्रका विषयमा बहस गरौँ र आवश्यक भए पुन: बिचार गरौँ ।’

थापाले राप्रपा राजसंस्थाको पक्षमा भए पनि पुरानै व्यवस्था ल्याउनु पर्ने पक्षमा भने नभएको बताएका छन् । गणतन्त्र, धर्म्निरपेक्षता सङ्घीयतामा जनताको मत रहेकाले तिनीहरू सबैको मागलाई सम्बोधन गर्दै एउटा मध्यमार्गी बाटोका लागी आफूहरूले माग गरेको र त्यसै अनुरूप प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको समेत थापाले बताए ‘पुरानै व्यवस्था ल्याउनु पर्छ यो पक्षमा हामी पनि छैनौ सिक्किम भारतमा गाभिएको हामीलाई थाहा छ ।’ अध्यक्ष थापाले भने ‘हामीले देशमा हस्तक्षेप हुँदा बचाउन निर्वाचन भन्दा माथिको एउटा संस्था, राजसंस्था राखौँ भनेका हो ।’ अध्यक्ष थापाले नेपालमा शासन सत्तामा रहेका दलले पार्टी र आन्दोलन सञ्चालन गर्ने फण्ड नै विदेशबाट ल्याउने पार्टीबाट देशको स्वाधीनताको रक्षा नहुने समेत बताए ।

थापाले प्रादेशिक सरकारको नेपालमा काम नभएको बताउँदै केन्द्र र स्थानीय सरकारलाई मात्र अधिकार सम्पन्न गराएमा सङ्घीयता पुरा हुने बताए । नेपालका ९४ प्रतिशत जनताको आस्था सनातन हिन्दु धर्ममा भएकाले नेपाललाई सनातन हिन्दु धर्म भएको धर्मी स्वतन्त्र राष्ट्र बनाउनु पर्ने राप्रपाको माग छ ।

प्रतिक्रिया दिनुहोस्