शोकाकुल अधिकारी परिवारको भावविह्वल दृश्य देख्दा, नेताहरुको नै आखाँ रसाए



१६ फागुन २०७५, काठमाडौं

ललितपुरको पुल्चोकस्थित मन्त्रीहरुको सरकारी निवास बुधबारदेखि स्तब्ध बनेको छ ।पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ताप्लेजुङमा हेलिकप्टर दुर्घटना हुँदा निधन भएसँगै मुलुक नै शोकमा डुब्यो । अझ मृतकको घर परिवारलाई असह्य पीडा थपियो । यस्तै भयो पुल्चोकस्थित मन्त्री अधिकारी निवासमा पनि ।

छोराको मृत्युको खबरसँगै अर्धचेत अवस्थामा पुगेका मन्त्री अधिकारीका बुवाआमालाई कास्कीबाट काठमाडौं ल्याइयो । र मन्त्री क्वाटरमा राखियो । छोराको निधनले उठ्न नसकेकी रवीन्द्रकी आमा १० वर्षको नाति आइपुगेपछि उठ्ने कोसिस गरिन् ।

फुपूको घरमा राखिएका रवीन्द्रका १० वर्षका सरोज अधिकारीलाई बिहीबार मन्त्री निवासमा ल्याएको हो । उनले शोकाकुल आमासहित हजुरबुवा र हजुरआमालाई भेटेका छन् । कान्छो नाति पुगेपछि शोकाकुल रहेकी हजुरआमाले उनको गाला सुम्सुम्याएर रोएकी थिइन् । शोकाकुल अधिकारी परिवारलाई भेट्न पुगेका नेता तथा शुभचिन्तकहरुको आँखा रसाएको छ ।

अधिकारी परिवारको शोकाकुल अवस्थाले समवेदना दिन पुगेकाहरुको आँखा रसाएको हो । यसैबीच मन्त्री अधिकारीका जेठा छोरा बिराज भारतको बेङग्लोरबाट फर्किरहेका छन् । उनी बिहिबार नै काठमाडौँ आइपुग्ने परिवारजनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्