भगवान बुद्ध र ऋषि देवकोटा उस्तै हुन् : प्रधानमन्त्री ओली



१२ फागुन २०७५, काठमाडौं

ऋषिराज देवकोटाको ३८ औं स्मृति सभा तथा ऋषिराज देवकोटा ‘आजाद’ : ‘नेपाली क्रान्तिका अभिमन्यु’ पुस्तक विमोचन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलिले ऋषि देवकोटा ‘आजाद’ लाई ब्यक्तिगत रुपमा नभेटेपनि भगवान बुद्धलाई नभेट्दा सबैले चिनेझै आफूले ‘आजाद’लाई चिनेको बताए ।

त्यसबेला नागरिक स्वतन्त्रता र लोकतन्त्रको पक्षमा आवाज उठाउँदा जेल बस्न, मर्न, मारिन र बलिदानका निम्ति तयार हुनुपर्ने भन्दै अहिले जनताले परिवर्तनका लागि आवाज उठाउँदा ज्यान जाने अवस्था नभएको प्रधानमन्त्री ओलीले बताए ।

कार्यक्रममा नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कम्युनिष्ट आन्दोलनमा ‘आजाद’को ठूलो योगदान रहेको बताउँदै संघर्ष र बैचारिक बहसमा महत्वपूर्ण भूमिका रहेको बताए । ‘आजाद’ सिन्धुलीमा मात्र नभएर विभिन्न जिल्लाका धेरै ग्रामिण क्षेत्रको सामाजिक जागरणमा योगदान पुर्याएको स्मरण गर्दै प्रसंसा गरेका थिए ।

ऋषि देवकोटा ‘आजाद’की धर्म पत्नी तथा प्रतिनिधिसभा सदस्य गोमा देवकोटाले पञ्चायतकालमा मारिएका सहिदहरुको खोजी गरि अहिलेको सरकारले सबैलाई शहिद घोषणा गर्नुपर्ने धारणा व्यक्त गर्दै देश परिवर्तको लागि रगत बगाएका शहिदका इच्छा वर्तमान सरकारले पूरा गर्ने विश्वास व्यक्त गरिन् ।

पूर्व कृषिमन्त्री तथा प्रतिनिधि सभा सदस्य हरिबोल गजुरेलले देवकोटा ‘आजाद’ सँग नजिक रहेर काम गर्ने अवसर प्राप्त गरेको बताउँदै देवकोटा प्रेरणाको श्रोत रहेको बताए ।

कार्यक्रममा सिन्धुली जिल्लाबाट संघिय सांसद गणेशकुमार पहाडी तथा प्रदेशसभा सदस्यहरु; कमलामाई नगरपालिकाका प्रमुख तथा उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख लगायत नेकपाका जिल्ला स्तरीय नेता तथा काठमाडौंमा बसोवास गर्ने सिन्धुली जिल्लावासीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

ऋषिराज देवकोटा आजाद स्मृति प्रतिष्ठानको आयोजनामा भएको स्मृति सभा तथा पुस्तक विमोचन कार्यक्रमको संचालन शहिद आजादका छोरा सुवास देवकोटा र अध्यक्षता प्रतिष्ठानका अध्यक्ष रमेश देवकोटाले गरेका थिए। कार्यक्रम प्रधानमन्त्री निवास बालुवाटारको सभाहलमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्