‘अल्ट्रा म्याराथन’को सफलतामा केचनाको ओरालो नझरी सगरमाथाको चुचुरो पुगेकी एक सफल नारी ‘मीरा’ ! (भिडियो सहित)



१० फाल्गुन २०७५, काठमाडौं

‘खेल’ खेलकूद वा कृडा शरिरिक गतिबिधि हो । जुन, रमाईलो वा प्रतिस्पर्धाको निम्ति गरिन्छ ।

खेलसँग धेरै विषयवस्तुहरु जोडिन पुग्छन् ।

साहसी नारी ‘मीरा राई’सँगको भिडियो अन्तरवार्ता :

शरिरिक तन्तुरुस्तदेखि लिएर सिङ्गो देशको विकाससम्म । यसको कुनै मापदण्ड हुँदैन । जसले जुन् खेल पनि खेल्न सक्छ ।

विशेषगरि नेपालको परिप्रेक्ष्यमा भन्ने हो, भने, खेलकूदलाई त्यत्ति प्राथमिकताका साथ हेरिदैँन । तरपनि यो परिस्थितीको बावजुद नेपाली समाजमा धेरै खेलाडीहरुको जन्म भईरहेको छ । यो हामी नेपालबासीहरुको लागि खुशीको कुरा हो ।

विशेषगरि नेपालको सदियौंदेखिको राजनीतिक अस्थिरताका कारण पनि हो ।

नेपालमा खेलकूद क्षेत्रमा यो समस्या देखिनु । अब, यसलाई सम्हालेर खेलकूदमा पनि देशको अरु ठाँउमा गरिएको लगानीको केही हिस्सा लगानी गर्न आवश्यक देखिन्छ ।

देशलाई विश्वमा चिनाउनका लागि विशेष भूमिका एउटा सफल खेलाडीको काँधमा पनि हुन्छ ।

किनकी, खेल, एउटा यस्तो क्षेत्र हो । जसमा विभिन्न कुराहरु जोडिएका हुन्छन् । व्यक्तिगत स्वास्थ्यदेखि देशको विकाससम्म्को अभिभारा खेलाडीसँग पनि हुन्छ ।

यहिँ अभिभारा वहन गरेकी एक साहसी नेपाली नारी हुन् ‘मीरा राई’ जसले कुदेरै नेपालको नाँउलाई विश्वसामु चिनाएकी छिन् ।

एउटा नारी भएर, यत्तिसम्मको साहस गर्नु साँच्चीकै एउटा असाधारण काम हो । तर, यसो भनिरहँदा फेरी नारीलाई कमजोर ठानिएको भने पक्कै होईन ।

नेपाली समाजमा अझै पनि यो मानसिकता अनि विसंगती ज्युँदै छ । सोच्छन्, नारी भनेको नारी नै हुन् । उनीहरुले पुरुषहरुको दाँजोमा केही काम गर्न सक्दैन् ।

तर, पछिल्लो वर्षहरुमा यो केही न केही रुपमा न्युनीकरण भएको पाईन्छ । यो झनै एउटा उपलब्धीको कुरा हो । कमसेकम नेपाली समाजको लागि ।

‘मीरा राई’ जसले नेपाली अनि नेपालको नामलाई उच्च राख्न सहयोग गरिन, अनि गर्दैछिन् ।

यो नाम नेपालको लागि कुनै विश्व सम्पदासूचीमा सूचीकृत सम्पत्तिको नामभन्दा कमीको नाम पक्कै पनि होईन ।

अल्ट्रा म्याराथनको क्षेत्रमा अमुल्य योगदान दिएकी ‘मीरा’ भन्छिन्, “जत्ति बाँच्छु, त्यत्ति समय म म्याराथनमै बिताउँछु ।”

यो उनको भनाई नेपालको लागि एक दृढताको आवाज हो ।

सन् १९८८ डिसेम्बर ३१ को दिन जन्मिएकी नेपालकी छोरी, ‘मीरा’ साँच्चै एक साहसी नेपालकी छोरी हुन् ।

‘एडभेन्चर अफ दि ईयर–२०१७’ को उपाधीसमेत भिरेकी उनले नेपालको अल्ट्रा म्याराथनको माध्यमबाट नेपालको लागि ठुलो काम गरेकी छिन् ।

जसले नेपालको प्रतिनिधित्व गर्दै अन्य देशका सारा प्रतिस्पर्धीहरुलाई पछि पारेकी छिन् ।

भोजपूरको सानो दुम्माको उकाली अनि ओरालीले जन्म दिएकी उनलाई दौडिने कुरामा त्यक्ति गाह्रो भएन । उनी भन्छिन्,

“मलाई त्यक्ति गाह्रो नै त, भएन, सुरुमा गाह्रो हुने त भई नै हाल्यो । तर, मैले केही व्यायमहरु थालेपछि यो स्पीडमा सजिलै कुद्न संके ।”

‘मुस्ताङ ट्रायल दौड’, ‘बफेलो स्टमपेड’ तथा अन्य दौडहरुमा एक्लो राज गर्दै आएकी ‘मीरा’ अहिले अन्तराष्ट्रिय स्तरमा समेत एक साहसी नारी सावित भएकी छिन् ।

एकपछि अर्को सफलताहरुलाई हात पार्ने क्रममा उनले धेरै उपाधी तथा सम्मान पाईसकेकी छिन् ।

गाँउमा संचालन हुने धेरै दौडहरुमा सहभागी हुँदै अन्तराष्ट्रियस्तरसम्मको यात्रा तय गरिसकेकी उनी अहिले अल्ट्रा म्याराथनको क्षेत्रमा विश्वमा एक छिन् ।

‘मीरा’ले फ्रान्सको ‘स्काई रनर’ त्यसै गरि धेरै उपाधीहरु हात पारिसकेकी छिन् ।

सामान्य परिवारमा जन्म लिएकी ‘मीरा’ अहिले आएर नेपालको प्रतिनिधित्व गर्दै आफुलाई सम्पन्न तुल्याएकी छिन् ।

“सुरुमा त धेरै गाह्रो थियो । खानलाई पनि धौ–धौ पथ्र्यो । तर, पछि आएर ठिकै छ । जीवनमा फ्रष्ट्रेशन भएको छैन ।” उनी भन्छिन् ।

‘अल्ट्रा म्याराथन’लाई खेलकूदको कुनै पनि उच्च निकायले र एथ्लेटिक्स संघले समेत खासै ध्यान नदिएको यो अवस्थामा नेपालकी साहसी छोरी ‘मीरा’ भने, विश्वमा एक हुनु भनेको नेपालकै लागि गौरवको कुरा हो ।

“मलाई सरकारको पक्षबाट त, खासै सेवा सुविधा त छैन । बरु, मलाई धेरै संघसंस्था अनि व्यक्तित्वहरुले सहयोग गरेका छन् ।” उनी सुनाउँछिन्,

हङकङमा आयोजित ५० किलोमिटरको एशियन च्याम्पियनसिप २०१४, त्यसैगरि इटालीमा ५७ मिटरको अनि नर्वेमा ८० किलोमिटरको समेत उनले सफलता हासिल गरिन् ।

यो सफलताको श्रेय सबै उनी आफैलाई जान्छ, जसको कडा मिहनेतले आज नेपाल अल्ट्रा म्याराथनको क्षेत्रमा धेरै अगाडी छ ।

उनी भन्छिन्, “अल्ट्रा म्याराथनको क्षेत्रमा नेपाल शायद पहिलो नम्बरमै पर्छ । नेपालमा खेलकूदको क्षेत्रमा भएको यो समस्याको बावजुद पनि ‘अल्ट्रा म्याराथनलाई यो चूलीसम्म ल्याउँन संके, यो कुरा मेरो लागि पनि एक खुशीको कुरा हो । यो सोचिरहँदा म आफैलाई खुशी लाग्छ ।”

एकपछि अर्को सफलता हातमा लिदैँ अघि बढिरहेकी ‘मीरा’ले नेशनल ज्योग्राफीले सार्वजनिक गरेको वर्षकै साहसी महिला ‘एड्भेन्चर अफ दि ईयर’को मनोनयनमासमेत परेकी थिईन् ।

यो उनको सफलताहरुलाई नियालिरहँदा साँच्चै लाग्छ, नेपालमा खेलकूदको क्षेत्रमा नयाँ–नयाँ आयामहरु भित्रिरहेका छन् ।

सन् २०१८ मा ‘बृज सिमेन्ट’को ब्राण्ड एम्बास्डरको रुपमा समेत छानिएकी ‘मीरा’ ले आफ्नो खेलजीवनले यो नयाँ मोड लिएकोमा रमाउँछन् ।

यो उनको साहसिक कामहरुलाई देखेर सयौं मनकारी व्यक्तित्वहरु तथा धेरै संघसंस्थाहरुले सहयोग गरेका करा उनी निर्धक्क राख्छिन् ।

अल्ट्रा म्याराथनको माध्यमबाट नेपालको नामलाई अन्तराष्ट्रिय क्षेत्रमा उच्च राख्न सकेकी नारी, ‘मीरा’ पूर्व–माओवादी लडाकू पनि हुन् ।

जनयुद्ध कालमा माओवादीमा लागेकी ‘मीरा’लाई पछि सेना छनौटमा अयोग्य ठानी फालिएकी कुरा उनी परिवर्तन खबरसँग भन्छिन् ।

उनी भन्छिन्, “जे हुन्छ, राम्रैका लागि हुन्छ, भन्छन् । हो रहेछ । मलाई त्यहाँ फालियो, अनि पछि आएर यो अवस्थासम्म आएँ, खुशी छु ।”

सानोमा आफ्नो भन्दा दोब्बर तौलको भारी बोकेर उकाली अनि ओराली गर्न सक्नु, रुख चढ्न सक्नु, धेरै उफ्रनु सक्नु, अनि धेरै छिट्टो हिड्न सक्नु उनको खुबी थियो ।

उनी भन्छिन्, “धेरै दुःख थियो, तरपनि एक छाक खान अनि बाँच्न त्यक्ति कठिन भएन, जसोतसो चलाईन्थ्यो जीवन, उनकाली ओराली अनि मेलापात गरेरै भएपनि !”

“मलाई त्यो सानोमा गरेको त्यस्तै कामहरुले पनि पछि आएर सहयोग गर्यो ।” उनी भन्छिन् ।

यो सबै कुराहरुलाई राखिरहँदा उनले आफ्नो गुरुहरुलाई सम्झिएर भावुक बनिन् ।

“म पहिले जसरी कुद्थें, त्यसैगरि अझै कुद्न चाहन्छु, मेरो यो खुट्टामा आएको समस्यालाई रिकरभीसँगै हल्का व्यायम गरिरहेको छु । यो समस्याबाट निस्केपछि फेरी कन्टिनिऊ गर्छु ।” उनी सम्झाउँछिन् ।

विगत ८ वर्षदेखि सफलताको ‘वेश क्याम्प’बाट चढ्न सुरु गरेकी ‘मीरा’ अहिले चुचुरोमा पुगेकी हामी देख्न सक्छौं ।

यो उनको सफलता कहिल्यै ‘केचना’को ओराली नझरोस् । यसैमा नेपाली खेलाडी अनि समाजको भलो हुने छ ।

अन्त्यमा !

‘मीरा’ नेपालको एक होनहार क्षमताकी नारी हुन् ।

उनीजस्तो एक नारीलाई नेपाल सरकारले केही ग्रहायता दिएर विश्वकै उच्च एक धाविकाको रुपमा स्थापित गर्नुपर्दछ ।

देशलाई विकास गर्ने भनेर, अरु क्षेत्रहरुलाई मात्र प्राथमिकतामा राखेर हुँदैन । खेलले पनि देशको विकासमा ठुलो योगदान दिएको छ ।

खेलकूदमा पनि केही लगानीको हिस्सा छुटिनुपर्दछ । जसले साहसी नारी ‘मीरा’ जस्तो नारीको लागि एक नयाँ बाटो हुन सक्छ ।

यहाँ धेरै ‘मीरा’हरु छन् ।

अनि जोडिन सक्छ, एक सिङगो देशको विकासमा खेलकूद !

प्रतिक्रिया दिनुहोस्