
०९ फागुन २०७५, काठमाडौं
भारत उत्तरप्रदेशको कटराचौराह मधावलिया रोड निचलौलबाट एक २१ बर्षिय युवतीको उद्धार गरिएको छ । निचलौल स्थित एक कोठाबाट उनलाई उद्धार गरिएको हो ।
आफन्त नेपाल, सिमा प्रहरी महेशपुर, कोटवाली थाना ठूठीबारी र निच्लोलको निच्लोल थानाको सहयोगमा ती युवती उद्धार गरिएको आफन्त नेपालका कार्यकारी निर्देशक इन्द्रराज भट्टराई बताए ।
भट्टराईका अनुसार आर्केष्टाको एक कोठामा ती युवती सहित १२ जना थिए । ती मध्ये ६ नेपाली युवती थिए । अन्य युवती नेपाल फर्किन नमानेपछि ती युवतीको मात्रै उद्धार गरिएको हो ।
नवलपरासीकी ती युवतीलाई महेशपुरका मनोज धोवि (३०) ले आर्केष्टामा काम लगाइदिने भनि महेशपुर नाकाबाट निच्लोल पुर्याएर आर्केष्टामा ८० हजार भारुमा बेचेको प्रहरीको भनाई छ ।
मनोजले परासीको सिद्धार्थ चाउचाउ फ्याक्ट्रिमा काम गर्ने ती युवतीलाई जागिर लगाइदिने भनि प्रलोभनमा पारि निच्लोल पुर्याएका थिए । त्यँहाको आर्कोष्टामा उनलाई नाँच्ने काममा लगाइएको थियो ।
पीडित युवतीका अनुसार काम गरेको पैसा नपाएपछि साहुलाई घर पठाइदे भन्दा आफुले पैसामा किनेकाले पठाउन नमिल्ने बताएका थिए । त्यसपछि मात्र आफु बेचिएको थाहा भएको उनले बताइन् ।
एक महिनाको चिनजानमा मनोजसँग नजिकिएकि ति युवतीलाई ६ महिना अघि सो आर्केष्टाम पुर्याइएको थियो ।
मनोजले उनकी बहिनीलाई पनि २० हजार भारु कमाउने काममा लगाइ दिने भनि प्रलोभन दिएका थिए । उनी जान नमानेपछि मनोज सम्पर्क बिहिन भएका थिए । बहिनी सिमा भन्छिन्,“मलाई पनि बेच्ने योजना रैछ”, धन्न बेचिनबाट जोगिए”
६ महिना सम्म पनि दिदि सम्पर्कमा नआएपछि उनले जिल्ला प्रहरी कार्यालय नवलपरासीमा दिदि हराएको निवेदन दिएकी थिइन । प्रहरीले चासो नदिएपछि संघसंस्थालाई खोजिदिन आग्रह गरेपछि दिदिको उद्धार गरिएको उनले बताइन् ।
आर्कोष्टामा मनोजले नेपाली युवती सप्लाई गर्ने काम गर्दै आएको आशंका गरिएको सिमा प्रहरी चौकि महेशपुरका प्रहरी इन्र्चाज बिष्णु सापकोटाले बताए । फरार रहेका मनोज भारतको निचलौलमा भएको आशंकामा भारतीय प्रहरीको सहयोगमा खोजी कार्य गरिएको सापकोटाले बताए । उनका अनुसार २ महिना अघि पनि उक्त आर्केष्टाबाट एक युवतीको उद्धार गरिएको थियो । पछिल्लो ६ महिनाको अवधिमा आर्केष्टा हिडेका ९ युवतीको सिमा बाट उद्धार गरेको छ ।
आर्केष्टाको माध्यमबाट युवतीहरु बेचबिखनमा पर्न थालेपछि प्रहरीले जान रोक लगाएको छ ।





