
मिस युनिभर्स २०१५ की विजेता उर्वसी राउटेला पछिल्लो समय बलिउडमा स्थापित हुन संघर्षरत छिन् । उनले सुन्दरी प्रतियोगितामा सफलता हासिल गरेतापनि फिल्म क्षेत्रमा भने सोचे अनुसारको सफलता हात पार्न सकेकी छैनन् ।
उनले सिंह साब द ग्रेट बाट बलिउडमा डेब्यु गरेता पनि फिल्मले सोचे अनुरुपको ब्यापार गर्न सकेन । त्यसपछि उनले लगातार भाग जोनी, सनम रे, ग्रेट ग्याण्ड मस्ती, काबिल, हेट स्टारी ४ मा अभिनय कला देखाए पनि खासै दर्शकको मनमा भने बस्न सफल भईनन् ।
दर्शकहरुले उर्वसीको अभिनयलाई खासै नरुचाएपनि उनको सुन्दरताको भने तारिफ गर्ने गरेका छन् । हालै मुम्बईमा आयोजित फिल्मफेयर ग्ल्यामर एण्ड स्टाइल अवार्डमा नायिका तथा सुन्दरी उर्वसीको धेरै कलाकारहरुले तारिफ गरेका थिए ।
उक्त अवार्डमा बलिउडका धेरै कलाकार सहभागी भएका थिए जसमा दीपिका पादुकोण, सोनम कपूर, करिश्मा कपूर, बिक्की कौशल र शिल्पा सेट्टी लगायतले आफ्नो प्रस्तुती समेत दिएका थिए ।





