
०५ फागुन २०७५,काठमाडौँ
सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकहरुले आईतबार सामूहिक राजीनामा दिनेलगायतका सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।
सरकारी चिकित्सक संघ, नेपाल (गोदान)ले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो विधेयक सच्याउन सरकारलाई बाध्य पार्न सामूहिक राजीनामा दिने लगायतका एक हप्ते सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
घोषित कार्यक्रममा सो विधेयक सच्याउन राष्ट्रपति विद्या भण्डारी र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग एक पटक आग्रह गर्ने र त्यसो नभए आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गरी देशभर अवज्ञा आन्दोलन सुरु गर्ने निर्णय गरिएको संघका अध्यक्ष डा.दिपेन्द्र पाण्डेले जानकारी दिए ।
प्रतिनिधिसभाबाट सो विधेयक आफूहरुको मागलाई सम्बोधन नगरी पारित भएको भन्दै भोली (सोमबार) देशभरका चिकित्सकहरुले सो विधेयक सच्याउन सरकारलाई दवाव दिँदै स्वेच्छिक सामूहिक राजीनामाका लागि हस्ताक्षर अभियान सञ्चालन हुने छ ।
मंगलबार माईतीघर मण्डलामा आफुहरुको आन्दोलनका लागि साथ सहयोग गर्न सर्वसाधारणलाई अपिल गर्दै रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको पनि अध्यक्ष पाण्डेले बताए ।
बुधबार सामूहिक विदामा बस्ने, बिहीबार राजीनामा संकलन भएपश्चात सरकारलाई बुझाउन काठमाडौं भेला हुने तथा त्यसो गर्दा पनि आफूहरुको माग सरकारले सम्बोधन नगरे सबै अस्पतालको सेवा बहिष्कार गरी अवज्ञा आन्दोलन सुरु गर्ने सरकारी चिकित्सकहरुले सरकारलाई चेतावनी दिएका छन् ।





