ओझेलमा रहेको मनकामना मन्दिर प्रचार गर्न शिव महापुराण



०५ फागुन २०७५, इटहरी

सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. ४ मा रहेको माता मनकामना मन्दिरको संरक्षण र प्रचार प्रसारका लागी शिव महापुराणको आयोजना गरिने भएको छ ।

आगामी फागुन २० गते शिवरात्रीका दिन सम्पन्न गर्ने गरी लगाइने महापुराणको सुरुवात फागुन ८ गते गरिनेछ । प्रचारप्रसारको अभावमा ओझेल पर्दै आएको मन्दिरलाई महापुराणको माध्यमबाट आम मानिस सामु ल्याउने उद्देश्य रहेको पुराण आयोजना बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले जनाएको हो ।

बि.स २०५२ सालमा गोरखा जिल्लाको मनकामना मन्दिरबाट दियो र कलशको सङ्कल्प गरेर स्थानीय रामबाबु नेपाल लगायतका व्यक्तिहरूले ल्याएर इटहरीमा मन्दिरको स्थापना गरेको स्थानीयले बताएका छन् ।

गोरखा जिल्लामा रहेको पौराणिक तथा ऐतिहासिक महत्त्व रहेको हिन्दुहरूको आस्थाको मन्दिर माता मनकामनाबाट दियो र कलश ल्याई स्थापना गरिएको भए पनि प्रचार प्रसारको कमीले मन्दिरको महत्त्व घट्दै गएको छ । करिब चार कट्ठा जमिनमा निर्माण भएको मन्दिरमा भक्तजनको आगमन नहुँदा मन्दिर सञ्चालनमा समस्या परेको मन्दिर व्यवस्थापन संयोजक रामबाबु नेपालले बताए ।

बलि बाहेकको सबै भाकल पुरा हुने र गोरखा जिल्लासम्म गएर मनकामनाको दर्शन गर्न नसक्ने भक्तजनहरूको लागी यहाँ आउन आग्रह गर्दै यसको संरक्षणका लागी फागुन ८ गतेबाट शिव महापुराण ज्ञान महायज्ञको आयोजना गर्न लागिएको संयोजक नेपालले बताए । पौराणिक तथा धार्मिक महत्त्व राख्ने यस्ता धरोहरहरूको संरक्षण गर्न सके स्थानीय क्षेत्रमा पर्यटनको विकास सँगै एैतिहासिक क्षेत्रको महत्वकोबारे आगामी सन्ततिहरूलाई बुझाउन यस्ता महायज्ञले सजिलो हुने इटहरी उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष चन्द्र भट्टराईले बताए ।  महायज्ञ प्रचारप्रसार समिति संयोजक विजया प्याकुरेलका अनुसार फागुन ८ गते बुधवार कलश यात्राबाट महापुराण सुरु हुनेछ भने ९ गतेबाट १५ गतेसम्म पुराणमा कथा वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्