
जङ्गी अड्डा परिसरमा आयोजित एक विशेष कार्यक्रमका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको मुख्यालय जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेका छन् ।
उक्त कार्यक्रमको दौरान प्रधानसेनापति थापाले उपस्थित सकलदर्जालाई सम्बोधन गर्दै प्लाष्टिकजन्य बस्तुको प्रयोगले वातावरणमा पार्ने नकरात्मक प्रभावका बारे स्पष्ट भई प्लाष्टिकको प्रयोगलाई सांगठनिक रुपमै निरुत्साहित गर्न जङ्गी अड्डाबाट सुरु गरिएको यस अभियानलाई नेपाली सेनाको सम्पूर्ण युनिटहरुले अभियानका रुपमा अगाडी बढाई व्यारेक इलाकालाई प्लाष्टिक मुक्त क्षेत्र कायम राख्न निर्देशन दिए । साथै, कस्ता प्लाष्टिकजन्य बस्तुलाई निषेधित गर्ने र कस्तालाई पुन: प्रयोगमा ल्याउन सकिने कुरामा समेत स्पष्ट भई उचित व्यवस्थापनको लागि सम्बन्धीत विभागलाई निर्देशन समेत दिए ।
प्रधानसेनापति कमाण्ड मार्गनिर्देशन २०७५ मा रहेको वातावरण तथा पर्यावरणमा नेपाली सेनाको प्रतिवद्धता अनुसार सुरुवात गरिएको यस प्लाष्टिक निषेधित क्षेत्र कार्यक्रममा उपस्थित रहनु भएका नेपाली सेनाका रथीवृन्द, अधिकृत र अन्यदर्जाहरुले जङ्गी अड्डा परिसरमा सरसफाई समेत गरेका थिए ।





