
०३ माघ २०७५, संखुवासभा
संखुवासभाको मादीमा सञ्चालन गरिएको धार्मिक एकताको ज्ञान महायज्ञ सम्पन्न भएको छ । माघ २५ गतेदेखि सुरु गरिएको ज्ञान महायज्ञ बिहिबार सम्पन्न भएको हो । मादी बहुमुखी क्याम्पसको आर्थिक उन्नयनको निम्ति बहुधार्मिक, बहुसाँस्कृतिक ज्ञानमहायज्ञ तथा धार्मिक महोत्सव गरिएको थियो । महायज्ञमा हिन्दु, बौद्ध र किराँत धर्मका धर्म गुरुहरुले प्रवचन दिएका थिए ।
हिन्दु धर्मका पण्डित दिनबन्दु पोख्रेल, बौद्ध धर्मका डा. शिरलामा गुरुङ, किरात धर्मका कमल तिगेला खेवाहाङ, डिबी आङबुङ लिम्बु र झुमा वनेम लिम्बुले प्रवचन दिएका थिए । २०४४ सालमा स्थापना भएको क्याम्पसको आर्थिक अवस्था कमजोर बन्दै गएको र क्याम्पसको बृहत्तर शैक्षिक विकास गर्न महायज्ञ गरिएको आयोजकले जनाएको छ ।
यस्तै सामाजिक तथा धार्मिक एकताको सन्देश दिनको लागि महायज्ञको आयोजना गरिएको हो । महायज्ञ मादी नगरपालिकाको प्रायोजन तथा मादी बहुमुखी क्याम्पसको आयोजनामा भएको थियो ।
महायज्ञबाट क्याम्पसलाई ८० लाख रुपैंया रकम संकलन भएको छ भने ८० रोपनी जग्गा उपलब्ध भएको छ । उक्त रकमबाट क्याम्पसमा प्राविधिक शिक्षा सुरु गर्ने क्याम्पसले जनाएको छ ।





