नेपाली सीमासम्म पानीजहाज ल्याउन भारतले नयाँ परियोजनाको काम सुरुवात, प्रधानमन्त्रीले भोलि कार्यालय उद्घाटन गर्ने



१ फागुन २०७५, काठमाडौँ

भारतले गण्डक नदी हुँदै नेपाली सीमासम्म पानीजहाज आउने गरी नयाँ परियोजनाको काम सुरुवात गरेका छन् ।

भारतका सिपिङ, जलस्रोत र नदी विकास मन्त्री नितिन गडकरीले पटनाको गाईघाटबाट बगाहासम्म पानीजहाज ल्याउने परियोजना सोमबार शिलान्यास गरेका छन् ।

भारतको सिपिङ मन्त्रालयले हल्दिया बन्दरगाहबाट नेपाली सीमासम्म पानीजहाजमा सामान ढुवानी गर्न यो परियोजना तयाारी गरेको बताए ।

१ हजार टनसम्मका कन्टेनर बोक्ने पानीजहाज ल्याउन गाईघाटदेखि बगाहासम्मको तीन सय किलोमिटरमा ४ वटा टर्मिनल बनाइनेछ । १३ करोड भारतीय रूपैयाँ खर्चेर अर्को वर्षसम्म पानीजहाज चलाउने भारतको योजना छ ।

मन्त्री गडकरीले भारत भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई यो परियोजनाबाट नेपालले धेरै फाइदा लिन सक्ने बताएका छन् ।

सोमबार नयाँदिल्लीमा भएको भेटमा गडकरीले हल्दियादेखि नारायणी नदी तथा दुई देशको सीमा त्रिवेणीघाटसम्मको जल यातायात मार्गको निर्माण एक वर्षभित्र सम्पन्न हुने भएकाले त्यसको फाइदा लिन आग्रह गरे ।

नेपाली सीमाबाट नजिकैको बगाहासम्म पानीजहाज ल्याउन भारतले काम थालेपछि अब नारायणी नदीमा पनि पानीजहाज चलाउने कुराले सार्थकता पाउने नेपाली अधिकारीहरूले जानकारी दिए ।

बेल्वासेले भने, ‘गण्डक ब्यारेज हुँदै पानीजहाज कसरी नेपाल पसाउने भन्नेमा दुबै देशका अधिकारीबीच छलफल हुन्छ । ’बेल्वासेले अब सुस्ता आसपासमा नेपाली टर्मिनल बनाउन अध्ययन सुरू गरिने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल पानीजहाज कार्यालयको उद्घाटन गर्दैछन् । ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालय राखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिए ।

गत चैतमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा जलमार्गमार्फत् कार्गो ढुवानी गर्न भारतले नेपाललाई समुद्रसम्म पहुँच दिने समझदारी भएको थियो ।

यसका लागि दुई देशबीचको व्यापार तथा पारवाहन सम्झौतामा जलमार्ग पनि थप्ने गृहकार्य गर्न दुई प्रधानमन्त्रीले सम्वन्धित अधिकारीलाई निर्देशन दिएका थिए ।

नेपालले जेठ तेस्रो साता जल तथा उर्जा आयोगका सहसचिव वेल्वासेको संयोजकत्वमा उर्जा तथा सिँचाइ,भौतिक पूर्वधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सदस्य राखेर समिति बनाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्