
२९ माघ २०७५, इटहरी
इटहरी विभागिय नेपाल पुलिस क्लब २१ औं आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सहारा क्लब पोखरालाई सडन डेथमा ४–३ गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा यात्रा पक्का गरेको हो ।
धरान रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटसम्म १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ३–३ गोलको बराबरी भएपछि सडन डेथबाट नतिजा निकालिएको हो ।
खेलको ३४ औं मिनेटमा प्रहरीका लागि निरकुमार राईले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ३९ औं मिनेटमा साहाराका विश्व अधिकारीले पेनाल्टी मार्फत गोल गरे र खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
खेल अवधिभर दुवै टिमले थुप्रै राम्रा अवसर खेर फालेका थिए । खेलको म्यान अफ दी म्याच पुलिसका निरकुमार राई घोषित भएका छन् । उनले नगद १५ हजारको साथमा ट्रफी पाएका छन् ।





