सदरमुकाममा बसपार्क व्यवस्था नगएको गुनासो



२९ माघ २०७५, काठमाडौँ

सदरमुकाम कुश्मामा निर्माणाधीन बसपार्क वर्षौंदेखि अलपत्र छ । बसपार्क निर्माण पूरा नभएपछि सवारी साधन राख्न समस्या छ ।

तत्कालीन जिल्ला विकास समितिले बसपार्क निर्माणका लागि पहल गरे तर बजेट अभावमा अलपत्र परेको ट्राफिक प्रहरीले बताए ।

बसपार्क निर्माणका लागि पाँच वर्षअघि तयार पारिएको गुरुयोजना हालसम्म पनि पूरा हुन सकेको छैन । करिब एक करोड ५९ लाख रुपैयाँको खर्चमा बसपार्क निर्माण गर्ने योजना बनाए पनि तत्कालीन जिल्ला विकास समितिको १३ लाख रुपैयाँ खर्चमा सम्याउने मात्र काम भएको छ ।

बसपार्क निर्माणका लागि करिब १२ रोपनी जग्गा प्रस्ताव गरिएको छ । कुश्माबाट दैनिक एक दजर्नभन्दा बढी स्थानमा सवारी साधनहरु छुट्ने गर्छन् । बसपार्कको अभाव भएपछि सवारी धनीहरुले आ–आफनो घरअगाडि सवारी साधान राख्ने गरेका छन् ।

व्यवस्थित वसपार्क नहुँदा सवारीसाधनका महत्त्वपूर्ण पार्टपूर्जा चोरी हुने गरेको बसधनीहरुको गुनासो छ । बसपार्कको अभावले सवारीसाधन व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामकृष्ण गौलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्