
२८ माघ २०७५, काठामाडौँ
साँखु महानगरीय प्रहरी वृत्त बौद्धले मोटरसाइकल चोरी गरेको अभियोगमा ५ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ ।
माघ २४ गते काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा पार्किङ्ग गरी राखेको प्रदेश नं ३, ०२–००३ प ६२०२ र गोकर्णेश्वर नगरपालिका बेँसीगाउँबाट प्रदेश नं ३, ०२—००२ प ८९८७ नम्बरको २०० सिसीको मोटरसाइकल हराएको थियो ।
सोही मितिमा गोकर्णेश्वर नगरपालिका माकलबारीबाट बा ७० प ७२५४ र बा २९ प ५१२१ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।
प्रहरीले गोप्य सूचनाका आधारमा गोकर्णेश्वर नगरपालिका–९ भगवतीचोक नजिक रहेको छोरोल्पा गलैँचा कारखानाको परिसरभित्र लुकाएर राखेको उक्त चारै वटा मोटरसाइकलसहित तीनलाई पक्राउ गरी मुद्दा दर्ता गरेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
चोरीमा संलग्न सर्लाही हरिवन नगरपालिका–१ घर भई जोरपाटी अत्तरखेल बस्ने २८ वर्षीय भोजबहादुर योञ्जन, सोही ठेगाना भएका १८ वर्षीय रामबहादुर योञ्जन र हरिवन नगरपालिका–६ स्थायी घर भई काठमाडौं बस्ने मदन लामालाई प्रहरीले पक्राउ गरी आइतबार चोरी शीर्षकमा मुद्दा दर्ता गरेको छ ।





