आफ्नो जागिर छोडेर ट्रक चलाइन्, अहिले संसारकै सुन्दर ट्रक ड्राइभरको रुपमा चर्चित, राइनो सासाकी..



२७ माघ २०७५, काठमाडौं

जापानको कोचीमा हुर्किएकी राइनो सासाकी २१ वर्षे युवती संसारकै सबैभन्दा सुन्दर ट्रक ड्राइभरको रुपमा चर्चित भएकी छिन् । सात वर्षअघि आफ्ना ट्रक ड्राइभर बुवा एकाएक बिरामी भएपछि उनले बुवाकै पाइला पछ्याउने निर्णय गरिन् । बिरामी भएपनि कामलाई निरन्तरता दिइरहेका बुवालाई घरभन्दा हज्जारौं किलोमिटर टाढा, बाटोमा एक्लै र हेरबिचार गर्ने कोही नभएको देख्दा उनले सहन सकिनन् । त्यतिबेला स्कूलमा ‘डान्स टिचर’ को रुपमा काम गरिरहेकी उनले आफ्नो बुवालाई ट्रकको लामो यात्रामा साथ दिने निर्णय गरिन् । उनले ट्रकको लाइसेन्स पनि पाइन् ।

आफ्नो करियर परिवर्तन गरेकोमा उनलाई कुनै पश्चाताप नभएको बताउँछिन् । उनी भन्छिन्, ‘म आफ्नो बुवासँग समय बिताउने मौका पाउँछु । उहाँ ठिक भए नभएको सुनिश्चित गर्न पाउँछु । उहाँले मलाई ट्रक ड्राइभिङबारे सधैं नयाँ कुरा सिकाउनु हुन्छ । ’

जापानमा निकै थोरै महिला ट्रक ड्राइभर छन् त्यसकारण उनीहरुमाथि धेरैको रुची हुन्छ । इन्स्टाग्राम, फेसबुक र ट्वीटरमा राइनो सासाकीका हज्जारौं फलोअर्स भएकाले उनी एशियाली मुलुककी सबैभन्दा चर्चित महिला ट्रक ड्राइभर बनेकी छिन् । उनलाई संसारकै सबैभन्दा सुन्दर महिला ट्रक ड्राइभरको संज्ञा पनि दिइएको छ ।

आफ्नो चर्चाले जापानमा अन्य महिलालाई पनि यातायात क्षेत्रमा आफ्नो करियर स्थापित गर्नमा सहयोग गर्ने सासाकीले आशा गरेकी छिन् । आफ्ना अनुभव, फोटो र विभिन्न कथा सोसल नेटवर्कमा राख्दा अरु पनि प्रभावित होलान् कि भन्ने उनको भनाई छ ।

यो व्यवसायमा लागेको सात वर्ष भइसकेपछि उनको यो क्षेत्रप्रति एउटै मात्र गुनासो छ, त्यो पनि ड्राइभिङका लागि आफ्नो साइजको लुगा नपाउनु । पञ्जा, सेफ्टी सुजलगायतका सम्पूर्ण सामान महिलाका लागि निकै ठूला हुन्छन् त्यसकारण उनले यो क्षेत्रमा लाग्ने महिलाका लागि सही साइजको लुगा उपलब्ध गराउनु उनको उद्देश्य भएको बताउँछिन् ।राइनोले वर्षमा दुई लाख किलोमिटरको यात्रा गर्छिन् । उनी जापानभरी ताजा तरकारी र फलफूल ओसारपसार गर्छिन् ।

 

प्रतिक्रिया दिनुहोस्