
२५ माघ २०७५, काठमाडौं
विराटनगरलाई प्रदेश १ को अस्थायी मुकामका रूपमा भन्दा पनि जनसंख्या, आर्थिक कारोबार र सहरी सुविधाका हिसाबले प्रदेश कै पहिलो सहरका रूपमा चिनिन्छ । व्यापारिक केन्द्र र उच्च जनसंख्या रहेको सहरको चुनौती फोहोर हुनु सामान्य हो । तर त्यसलाई समाधान गर्न सरकारी निकायको मुख ताक्नुको सट्टा स्थानीय आफै लागे भने पक्कै पनि उक्त सहर सफा बन्न सक्छ ।
काठमाडौँमा स्वच्छ काष्ठमण्डप चलिरहेको अवस्थामा काठमाडौँ पछिको ठुलो सहरका रूपमा चिनिने विराटनगरमा समेत आफ्नो गाउँ आफै बनाँउको नाम दिँदै स्थानीय युवाले सफाइ अभियानको सुरुवात गरेका छन् । विराटनगरको पोखरीया टोलमा स्थानीय सरोज कोइराला लगायत युवाले सुरु गरेको अभियानमा सबैले साथ दिन थालेसँगै गाउँको मुहार समेत फेरीदै गएको छ ।

‘आफ्नो गाउँ, टोल आफैले सफा र स्वच्छ राख्नुपर्छ भन्ने धारणाको विकास भयो र यो अभियान थालेका हौ ।’ अभियान्ता कोइरालाले भने ‘यो स्थानमा भएको फोहोर र थुनिएको नालीले पार्ने समस्या यहाँका स्थानीयलाई नै हो । यही कुरा बुझायौ र अभियानको थालनी गर्यौ राम्रो नतिजा आउने अपेक्षा गरेका छौ ।’
त्यस्तै उक्त स्थानका विभिन्न आवश्यक ठाउँमा युवाले वृक्षारोपण गर्नका साथै धमिलिएका सडकका जेब्रा क्रस समेत बनाउने गरेको कोईरालको भनाई छ । पूर्वका सहरमा बेला बखतमा यस्ता अभियानको सुरुवाद भएका उदाहरण धेरै भएता पनि त्यसले निरन्तरता पाउन नसक्दा बिचैमा छाडिएको पाइन्छ । तर विराटनगरको एउटा टोलमा सुरु गरीएकोा यो अभियान भने नगर भरी बिस्तार गर्ने कोइरालाले बताए ।





