
२३ माघ २०७५, काठमाडौं
होटल व्यवसायी सङ्घ इटहरीले आयोजना गर्ने हेलि टुर सहितको ‘इटहरी फुड फेष्टीभल एन्ड टुरिजम फेयर २०१९’ को सम्पूर्ण तयारी पुरा भएको छ । फेयरको इटहरी स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा बिहीबार विशेष कार्यक्रमका बिच प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने तयारी रहेको छ । फेयर बारेमा जानकारी दिन आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी मेला अवधिमा मदिरा र मदिराजन्य पदार्थको बिक्रि बितरणमा भने निगरानी गरिने जानकारी दिएको छ ।
भोली दिउँसो १ बजे विभिन्न जातीय भेषभुषा, झाँकी, ब्यानर र वाजागाँजा सहित इटहरी उपमहानगरपालिका अगाडीवाट र्याली निकालिने र जनता खेलमैदान स्थित फेष्टिभल स्थलमा पुगेर २ बजे उद्घाटन गरिने बताईएको छ ।
विभिन्न परिकारका स्थानीय तथा विदेशी ६५ वटा खानाका स्टल बुक भईसकेको बताइएको छ । फेयरमा हेलीकप्टर टुरको व्यवस्था रहने, दुईवटा हात्तिको अवलोकन तथा मनोरञ्जनका लागी प्रत्येक दिन राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने होटेल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए ।

शुक्रवारवाट हेलिकप्टर टुरको लागी क्षेत्रीय रगंशालामा हेलिप्याडको व्यवस्था गरिएको पराजुलीको भनाई छ । सिटी टुर र पाथीभरा दर्शनका लागी पाँच दिन हेलिकप्टरको व्यवस्था गरिएको छ । सिटी टुर अन्र्तगत ४९९९ र पाथीभरा दर्शनका लागी ३१ हजार शुल्क लाग्ने वताइएको छ ।
महोत्सवमा कलाकारहरू प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई, सन्ध्या जोशी, सुगम पोख्रेल, मिङ्मा शेर्पा, राजनराज शिवाकोटी, विश्व नेपालीलगायत स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुति रहनेछ ।
फेष्टिभलको आकर्षण बढाउन कोसी टप्पु वन्यजन्तु आरक्षबाट बुधवार बेलुका सम्म दुईवटा हात्ति ल्याइने बताईएको छ । साथै फेष्टिभल स्थलमा अर्नाको प्रतिमा निर्माण भईसकेको छ भने बुधवार बेलुका सम्म लालीगुराँसको प्रतिमा निर्माण गरिसक्ने अध्यक्ष पराजुलीले बताए ।
इटहरी र समग्र प्रदेशको पर्यटन प्रबर्द्धको उद्देश्यले आयोजना गर्न लागिएको फेयर इटहरीमा हाल सम्म भएका मेला तथा फेयर भन्दा स्तरीय रहेको आयोजकको दाबी रहेको छ । फेयर अवलोकन कर्ताको मानसिकता र स्वास्थ्य दुबैलाई ध्यानमा राखेर तयारी गरेको अध्यक्ष पराजुलीले बताए ।





