कपनमा ढल र सडकको काम रोकिएपछि ठेकेदार र ईञ्जिनियरलाई फिल्डबाटै हकारे डा. भट्टराईले



२३ माघ २०७५, काठमाडौं

डा. राजन भट्टराईलाई कुटनीति क्षेत्रका विज्ञको रुपमा बुझ्ने गरिन्छ । बोल्दा र भाषणमा खासै ठूलो स्वर नगर्ने उनी नेकपा भित्र बौद्धिक नेतामा समेत गनिन्छन् । आलोचकहरुले डा. भट्टराईलाई राजनीति कला नभएका नेताको रुपमा समेत बुझ्ने गर्दछन् । सबै ठाउँमा देखिने उनको शालीनता र भद्रता नेपाली राजनीतिमा फिट नहुने भन्नेहरुको पनि कमी छैन । उनका बानी, प्रस्तुति र व्यवहार हेर्दा पनि त्यस्तै देखिन्छन् ।

डा. भट्टराईद्वारा सडक तथा ढल निरीक्षण गर्दै गरेको भिडियो :

निर्माणाधीन साततल्ले तरकारी बजार हुँदै आनीगुम्बा जाने ढल तथा सडक निर्माणको लागि शुरुदेखि नै डा. भट्टराईले पहल गर्दै आएका छन् । उनकै पहलमा बजेट समेत विनियोजन भयो, काम पनि शुरु भईसकेको छ । निर्माणको कामलाई समयमा नै सम्पन्न गर्न स्थानीय समाजसेवी मिठाराम अधिकारीको संयोजकत्वमा बनेको निर्माण समितिले समेत आवश्यक सहयोग गरिरहेको छ । त्यतिमात्र हैन, स्थानीय सरकारले ढल सडक निर्माणको कामलाई समयमै सम्पन्न गर्न वडाध्यक्षहरुलाई विशेष निर्देशन समेत दिएको छ, सोहि अनुसार परियोजना जोडिएका बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, ११ र १२ ले १/१ जना वडा सदस्यलाई निर्माण अवरोध आएमा समाधान गर्ने भनी विशेष जिम्मा समेत दिएको छ । बजेट पनि छ, ठेकेदार पनि छ, स्थानीय सहयोग पनि छ, डा. भट्टराई आफैँ पनि लागिरहेकै छन् । त्यति हुँदाहुँदा पनि ठेकेदारको लापर्वाहीको कारण निर्माणको गति अपेक्षित रुपमा बढ्न सकेको छैन् ।

सबै निकायले सहयोग गर्दागर्दै पनि कामले सोचे अनुसारको गति नलिएपछि संयोजक अधिकारीले डा. भट्टराईलाई फोन मार्फत कामले गति लिन नसकेको जानकारी गराए । फोनबाटै भट्टराईले अधिकारीलाई भनेछन,“सबै तिरबाट सहयोग हुँदाहुँदै कसरी काम रोकिन्छ ?” फोन राख्न नभ्याउँदै भट्टराईले तत्काल फिल्डमै आउने बचन दिएछन् । कतिपय समयमा फोन उठाउन समेत नभ्याउने डा. भट्टराईले आफैँले पारेको योजनामा अवरोध भएपछि तत्काल फिल्डमै आएर बुझ्ने सोचेछन् । उनी आउने जानकारी हाम्रो टिम सम्म आईपुग्यो ।

तरकारी बजारको छेउमै बाटो अवरोधको सुचना पढेपछि सरकारी गाडीलाई मुख्य सडक छेउमा रोकेर तरकारी बजार हुँदै डा. भट्टराई सहितको टोली ढल सडक निर्माणको प्रगति बुझ्दै/अवलोकन गर्दै अगाडि बढ्यो । निर्माणको प्रगति बारे बुझ्दै अघि बढेका डा. भट्टराई प्रहरी प्रभाग कपन नजिकै गणेश मन्दिर छेउ निर्माणाधीन ढल र बाटो रोकिएको ठाउँमै रोकियो । निर्माणाधीन ढल र सडक रोकिएको ठाउँमा उभिएरै  डा. भट्टराईले जनप्रतिनिधि, स्थानीय, निर्माण समितिका संयोजक, साईड ठेकेदारसँग कुरा गरे । सबैको कुरा सुनेपछि उनले सडक विभागकी साईड ईन्जिनियरसँग फोनमै कुरा गरे । साईड ईञ्जिनियरको कुरामा चित्त नबुझेपछि डा. भट्टराईले तत्काल सडक विभागकै डीई र सडक विभागको महानिर्देशकलाई निर्माण अवरोध बारे असन्तुष्टी व्यक्त गरे ।

निर्माण रोकिएको बिच सडकमा उभिएरै करिब १ घण्टा अवधिमा ठेकेदार, ईन्जिनियर र सडक विभागका महानिर्देशकलाई फोन गरे । माथिल्लो निकायमा समस्या नभएको बुझेका डा. भट्टराईले ‘ठेकेदारले ईन्जिनियरलाई र ईञ्जिनियरले ठेकेदारलाई दोष देखाउन’ थालेपछि आफ्नो शालीनता र भद्रता तोडे । अनुरोधको भाषा प्रयोग गरिरहेका भट्टराईले निर्देशन दिन थाले ।

फोनमा कुरा गरेका डा. भट्टराईले घना वस्तीको बिचमा रहेको ढल र सडक समयमा निर्माण नहुँदा आम नागरिकलाई पार्ने असरबारे बेवास्ता गरेको भनी निकै रिसाए । साईड ईञ्जिनियर काम प्रति जिम्मेवार नभएको भन्दै जिम्मेवारी पुरा नगरे, तत्काल फेर्ने, पैसाको कारणले रोकिएको भए आफूले त्यसको जिम्मा लिने तर समयमा नै काम हुनुपर्ने कडा निर्देशन दिए । भट्टराईले फोनमा कुरा गर्दा स्थानीय र सहभागीहरु आ–आफ्नै धुनमा थिए । उनले को सँग कुरा गरे भन्ने धेरैले थाहा समेत पाएनन् ।

फोन गफमै ठेकेदारले दाजुसँग भेट्नु छ भन्न भ्याए तर डा. भट्टराईले ‘पहिले काम गर्नुस् अनि भेटौला’ भन्दै कामलाई गतिदिन निर्देशन दिए । सडक विभागका महानिर्देशक र डीईले भट्टराईलाई समयमै काम सक्ने बचन दिए । भट्टराईले पनि ‘बजेटको कारणले रोकिएमा म छु’ भने । तर साईड हेर्ने ईन्जिनियरले चिनेर वा नचिनेर भट्टराईसँग निकै कुरा गर्न थालिन, उनको मात्र कुरा सुनिरहेका डा. भट्टराईले अन्त्यमा ईन्जिनियर साप भन्दाभन्दा भन्दै बैनी कुरा सुन्नुस्, तपाई त एकोहोरो पो बोल्नु हुँदोरहेछ ?  भन्दै कुरा हैन काम गर्न निर्देशन दिए । डा. भट्टराईले सडक निर्माणबारे स्थानीय, जनप्रतिनिधि, निर्माण समितिका संयोजकसँग छलफल गर्दै कुनै हालतमा काम तोकिएकै समयमा पुरा गराउनु पर्ने र आवश्यक परेमा आफूले जस्तो सुकै भूमिका निर्वाह गर्ने बताए ।

अफिस, कोठा र फोनबाट मात्रै जनताको काम गर्ने, शालीन, नम्र र भद्र स्वभावका डा. भट्टराईले गनाईरहेको ढलछेउ, सडकमै उभिएर जे गरे, त्यसले उनलाई कुटनीति र बौद्धिकता मात्रै हैन, आवश्यक परे, जनताको लागि, विकासको लागि जस्तो सुकै गर्न सक्ने नेता पो रहेछन्–एक स्थानीयले हामीसँग खुसुक्क भने, अब चाहिँ भट्टराईले पारा ल्याउलान जस्तो छ !

प्रतिक्रिया दिनुहोस्