एक नम्बर प्रदेशको प्रमुख पर्यटकीय गन्तब्य बन्दै भेडेटार



२२ माघ २०७५, काठमाडौं

पूर्बी नेपालको एक नम्बर प्रदेश अन्तर्गत धनकुटा जिल्लामा अवस्थित एक सुन्दर र प्रख्यात रमणीय स्थल हो भेडेटार। सुनसरी र धनकुटाको सिमानामा पर्ने भेडेटार धरान उपमहानगरपालिकाबाट करिब १७ किलोमिटर उत्तरमा रहेको छ भने धनकुटा जिल्लाको सदरमुकाम धनकुटा बजारबाट ३६ किलोमिटर दुरीमा रहेको छ।

समुन्द्री सतहबाट १४३० मिटर उचाईको पहाडी क्षेत्रमा पहाडको टुप्पोमा अवस्थित भेडेटारमा पहाडी एबं हिमाली भेगको सुन्दरता हेर्न र तराईको गर्मि छल्दै चिसो वातावारनामा रमाउन मानिसहरु आउने गर्दछन्। भेडेटारको सैलुङ्गडाँडामा रहेको भ्यू टावर अर्थात् चार्ल्सप्वाइण्टबाट सप्तकोशीको मनोरम दृश्य, सिरमा सेताम्मे हिउँ फुलाउने मकालु, कन्चनजंघा र कुम्भकर्ण जस्ता हिमशृंखलाहरुका साथै काखमा लमतन्न भएर सुतिरहेको पूर्वी तराईका विशाल फाँटहरुको साथै एकै पटक अवलोकन गर्न सकिन्छ। प्रेमिल जोडी हुन् या क्याम्पस पढ्ने केटाकेटी, श्रीमानश्रीमती हुन् या बुढाबुढी सबैको रमाइलो गर्ने गन्तव्यको रुपमा यतिबेला परिचित बनेको छ भेडेटार।

यतिबेला बेसितिरको गर्मि छल्ने पाखो बनेको छ भेडेटार। साँझपख भेडेटारबाट हेर्दा पूर्व – पश्चिम फैलिएको समतल फाँटको सुन्दरता उत्तिकै मनमोहक देखिन्छ। हुनत, बाह्रै महिना चिसो हावा बहने हुनाले प्राय युवायुवतीहरु हुल बाधिएर अथवा आफ्नो जोडी लिएर गर्मी मौसममा त्यहाको चिसो हावा खान र जाडो मौसममा तातो तोम्बाको चुस्की तान्न जाने गर्दछन। पिकनिक खानेहरुको लागि पनि भेडेटार एउटा निर्विकल्प नाम चलेको स्थान हो। तराइ क्षेत्र र भारतका गर्मि हुने ठाउँबाट चिसो हावापानी र मनोरम दृश्य अवलोकनका पारखीहरु भेडेटारलाई आफ्नो लक्षित गन्तब्य बनाउने गर्दछन। यहा बार्है महिना आन्तरिक र बाहिय पर्यटकको घुँइचो लाग्ने गर्दछ।

दैनिक दुई हजारदेखि पच्चीस सयको संख्यामा पर्यटकहरु घुम्न आउने भेडेटारमा एक हजार पाहुनालाई राख्न सक्ने क्षमताका कोठा समेत रहेका छन्। १ नम्बर प्रदेशको मानचित्रमा सबै भन्दा बढी घुम्न रुचाउने पर्यटकीय गन्तव्यको रुपमा भेडेटारलाई लिन सकिन्छ। माथितिर दन्तलहर छर्दै हाँसी रहेको मकालु, ल्होत्से र कुम्भकर्ण अनि तलतिर चारकोसे झांडी मासेर बनेको धरान बजार नियाल्न उक्लिनेको संख्याले भेडेटार सदाबहार खचाखच हुने गर्दछ। कामको व्यस्तता र थकाई बिर्सन प्राय मानिसहरु शनिवारका दिन भेडेटार पुग्छन र रमाइलो गर्दछन।

भेडेटारबाट उत्तरपट्टी राजमार्गको नमस्ते मोड छेउको ८० मिटर उचाईबाट झरेको रमणीय नमस्ते झरना र पश्चिम तिर रहेको ऐतिहासिक साँगुरीगढी अर्थात साँगुरी भन्ज्याङ समेत रहेको छ। भेडेटार आउने जो कोहि पनि ति दुई स्थानलाई हेरेर मात्रै फर्कने गर्दछन। भारतमा नमस्ते झरनाको राम्रो प्रचार प्रसार रहेको हुदा भारतीय पर्यटकको अर्को गन्तब्य नमस्ते झरना पनि बन्ने गरेको छ।

छिनमै चर्को घाम लाग्नु र छिनमै कुहिरोले ढाक्नु भेडेटारको एक विशेषता हो। यहि छिनछिनमा परिवर्तन हुने मौसम पनि पर्यटक लोभ्याउने अर्को पाटो हो। देशका विभिन्न स्थानबाट झापा, इलाम, मोरंग, सुनसरी र धनकुटा पुग्नेहरु सकेसम्म एक पटक भेडेटार यात्रा छुटाउँदैनन्।

भारतीय पर्यटकलाई २० रुपैया, अन्य मुलुकबाट आउने पर्यटकलाई ५० रुपैया र नेपालीहरुलाई प्रतिव्यक्ति ५ रुपैया र क्यामेरा सहित चड्दा १० रुपैया लाग्ने भ्यू टावरमा दैनिक सयौं मान्छे छाड्ने गर्दछन । टावरबात विहानीपख देखिने दृश्यले सबैलाई लोभ्याउने गर्दछ। कार्तिकदेखि बैशाख सम्मको समयमा पिकनिक खानेको भिड हुने त्यहाँ विवाहित जोडीहरु हनिमुन मनाउन समेत आउने गर्दछन। युवायुवतीको जोडीले भरिने भेडेटारलाई रियाल लभर स्टेसन को नामले समेत चिन्ने गरिन्छ।

साबिक भेडेटार गाविस र हालको साँगुरीगढी गाउँपालिका बनेको भेडेटारमा शंखेश्वर महादेवको मन्दिर, साँघुरी गढी, नाम्जे,ओख्रे, पाथिभरा मन्दिर, नमस्ते झराना राजारानी, नाम्जे बजार, एसियाकै सबैभन्दा ठुलो बाराको रुख र डाँडाबजार स्थित ध्वाजे डाँडा चर्चित पर्यटकीय गन्तव्यको रुपमा रहने स्थानहरु हुन्। भेडेटार घुम्न आउने पर्यटक सकेसम्म यी ठाउँहरुमा पुग्ने गरेका छन्। यातायात, संचार,होटल, लाज र रेष्टुरेन्ट आदिको राम्रो सुबिधा भएको भेडेटारमा भारताको विहार र बंगालबाट समेत उल्लेख्य रुपमा पर्यटकहरु आउने गरेको हुँदा यतिखेर प्रमुख पर्यटकीय महत्व बोकेको स्थानको रुपमा परिचित छ।

विशेष गरि गर्मि मौसमा शितलता भर्न र चैत- बैशाखमा गुराँस फुलेको दृश्यअवलोकन गर्न पर्यटक हरुको घुइचो लाग्ने गर्दछ। दुई वटा निजि कम्पनीले प्याराग्लाडिंग समेत संचालन गरिसकेको छ। सरकारले पनि भेडेटार र तो आसपासको क्षेत्रलाई राष्ट्रिय पर्यटन क्षेत्र घोषणा गरिसकेको छ। भेडेटारलाई अझै लोकप्रिया गन्तव्यको रुपमा विकास गर्नको निम्ति धरान सहित भेडेटार आसपासका ऐतिहासिक र धार्मिक क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार र प्रचार प्रसार गर्नु जरुरि देखिन्छ। गोरखाको मनकामना मन्दिरमा झैँ धरान देखि भेडेटारको पाथिभरा मन्दिरसम्म केबुककार बिस्तार गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्