
२१ माघ २०७५, काठमाडौं
काठमाडौं मोडेल कलेज बालकुमारीले शैक्षिक सत्र २०७१ मंसिरमा भर्ना भई विविए अध्ययन गरी २०७५ पौषमा सफलतापूर्वक अध्ययन सम्पन्न गरेका ६३ जना विद्यार्थीहरुलाई दीक्षित गरेको छ । सोल्टि क्राउन प्लाजामा सम्पन्न दिक्षान्त समारोह केएमसीका प्राचार्य श्री सुरेन्द्र सुवेदीको सभापतित्वमा सम्पन्न भयो । कलेजका निर्देशक श्री किशोर गौतमले आगन्तुक सबैलाई स्वागत गर्दै दिक्षित विद्यार्थीहरुले किताबी ज्ञानलाई व्यवहारिक जीवनमा प्रयोग गर्नुपर्ने कुरामा जोड दिनु भयो । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. कुन्दन दत्त कोइरालाले आफ्नो सम्बोधनमा आफुले अध्ययनकै क्रममा असल शिक्षक नै बन्ने प्रण गरेको र शिक्षण पेशामै रमाइरहेको उल्लेख गर्दै दीक्षित विद्यार्थीले आफ्नो भविष्यको मार्गचित्र बनाएर अघि बढ्ने र हतारमा निर्णय नगरी सोच विचार गरेर मात्र अब के गर्ने भन्ने योजना बनाउनु पर्ने साथै देशमा नै केही गर्न सकिने भएकाले आफूलाई मन पर्ने कामलाई उद्देश्य बनाउनु पर्ने कुरा व्यक्त गर्नु भयो । कार्यक्रमका मुख्य वक्ताका रुपमा टुटुल का सिइओ शिक्षित भट्टले प्रविधिको विकासले तिब्र रुप लिइरहेकोले विद्यार्थीहरुले पढ्दै गर्दा बजारमा कायम कयौँ जागिर केही समयपछि टाइपराइटर हराएझैं हराउने हुँदा अहिले नै भविष्यमा हुनसक्ने कामको प्रकृतिको परिवर्तनलाई ख्याल गरी सोही अनुसार आफूलाई अघि बढाउन सक्नुपर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा विशेष अतिथिको रुपमा आमन्त्रित स्वीटजरल्याण्डको (फ्राइवर्ग विश्वविद्यालय) की प्राध्यापक नाथानाइल फ्राइडेनले दीक्षित हुने महिला विद्यार्थीहरुको संख्याले आफूलाई उत्साहित बनाएको भन्दै आपूmले नेपाली समाजलाई विगत ४५ वर्षदेखि नियालिरहेको र यो समय नेपाल विकासको तिव्र गतिमा अघि बढिरहेकोले यो गतिलाई दिशा देखाउने काममा शिक्षित युवाहरु अग्रसर हुनुपर्ने बताउनु भयो । काठमाडौं मोडेल कलेजले सदा झैँ कलेज जीवनमा सबै विधामा आफूलाई अब्बल सावित गर्न सफल एक उत्कृष्ट विद्यार्थीहरुलाई प्रदान गर्ने एवम् नगद रु. १५०००/– यस वर्ष विश्वास पण्डितले हात पारे । आफ्नो सम्बोधनमा साइन्स छाडेर पण्डितले केएमसीमा विविए कार्यक्रममा भर्ना हुनु नै आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण निर्णय भएको भन्दै कलेजले विद्यार्थीहरुको समग्र विकासमा पुर्याएको योगदानको चर्चा गरे ।
कार्यक्रम समापनका क्रममा कलेजका प्राचार्य सुरेन्द्र सुवेदीले कलेजमा विद्यार्थी रहँदा मात्र नभई कलेज सकेर गएपछि पनि आफ्नो कलेजका उत्पादनलाई विश्व बजारमा स्थापित गर्न केएमसीले महत्वपूर्ण भुमिका खेलिरहेको र हाम्रा विद्यार्थी ज्ञानबाट मात्र हैन कामबाट पनि संसारभर चिनिउन भन्ने कलेजको चाहना रहेको बताउनु भयो ।
औपचारिक कार्यक्रमको समापन पश्चात् कलेजमा सातौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले आफ्ना अग्रज दीक्षित विद्यार्थीहरुलाई विभिन्न साँस्कृतिक कार्यक्रम गरी विदाई गरेका थिए ।





