
२१ माघ २०७५, विराटनगर
वैदेशिक रोजगारीमा जान चाहने प्रदेश १ का युवाले अव श्रम स्वीकृति लिन काठमाडौँ जान नपर्ने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले आगामी बुधवारबाट विराटनगरमा रहेको श्रम कार्यालयबाट पुनः श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गर्न लागेसँगै प्रदेश १ का युवाको काठमाडौँ पुग्नु पर्ने समस्या हट्ने भएको हो ।
आगामी बुुधबारबाट विराटनगरमै सेवा सुरु हुनेछ । यसका लागि विराटनगरमा रहेको श्रम तथा रोजगार कार्यालयमा आवश्यक संरचना र प्रविधिको निर्माण र विकासको कार्य भइरहेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । आगामी बुुधबारबाट प्रदेश १ मा यो सेवा सुरु भएसँगै देशका सातै वटा प्रदेशबाट श्रम स्वीकृति प्रदान हुनेछ । यस अघि सरकारले यद्यपि यस्तो स्वीकृति भने वैदेशिक रोजगारीबाट घर बिदामा आएका व्यक्तिले मात्र पाउने बताईएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसअघि प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ५ को बुटवल, गण्डकी प्रदेशको पोखरा, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको श्रम तथा रोजगार कार्यालयबाट सेवा उपलब्ध गराउन काम थालिसकेको छ ।





