दोस्रो ‘नर्स एथलेटिक्स मिट’ सम्पन्न



२० माघ २०७५, काठमाडौं / डिलकुमारी नेपाल

डा. खगेन्द्र स्पोर्टस फाउण्डेसनको आयोजनामा दोस्रो नर्स एथलेटिक्स मिट सशस्त्र प्रहरी प्रधान कार्यालयको रंगशालामा आयोजना गरियो ।

कार्यक्रममा काठमाडौंका २७ वटा अस्पतालका २०५ जना नर्सहरुले ४ विभिन्न विधामा भाग लिएको फाउण्डेसनका महासचिव राजन श्रेष्ठले जानकारी दिए ।उनका अनुसार १०० मिटर, २०० मिटर र ४०० मिटर रिले दौड प्रतियोगिता सम्पन्न गर्नुका साथै रोड रेस ३किलोमिटर दुरीका लागि दौडाइएको थियो ।

प्रतियोगितामा १०० मिटरतर्फ न्यूरो अस्पतालकी मुना श्रेष्ठ, २०० मिटरतर्फ सशस्त्र प्रहरी अस्पतालकी पूजा यादव र ४०० मिटरको रिले दौडेमा नेपाल प्रहरी अस्पतालको समूह प्रथम भएका थिए । यसैगरी रोडरेसतर्फ नेपाल प्रहरी अस्पतालकी खुसी हिराचनले बाजी मारेकी थिइन् ।

कार्यक्रमका प्रथम स्थान हासिल गर्न सफल नर्सहरुलाई नगद पुरस्कारसहित पदक तथा प्रमाणपत्र प्रदान गरिएको फाउण्डेशनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । स्वस्थ रहन शारीरिक कसरत अति आवश्यक रहेकाले नर्सहरुलाई छानिएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्