बिरगंज महानगरकी ८८ बर्षीय अविचलित योद्धा : उपप्रमुख कार्की (भिडियो सहित)



१६ माघ २०७५, काठमाडौं

आम नेपालीहरु ६० लागेपछि आफूलाई बूढो ठान्छन् । ७० लाग्दा त झनै बुढो सम्झिन्छन् । ८४ पुग्दा त आम मान्छे घरबाट बाहिर निस्कन पनि गाह्रो हुने मान्यता राख्छन् । ८४ वर्षपछिको उमेर समाजसेवामा वा राजनीतिमा भन्ने हो भने आम मान्छेले मजाक गरेको ठान्छन् । तर यी सबै आम धारणाकी अपवाद हुन् -विरगंज महानगरपालिककी उप–प्रमुख शान्ति कार्की ।

१४ वर्षको उमेरदेखि राजनीतिमा लागेकी कार्की अहिले ८८ वर्षकी भईन् । काँग्रेस नेता कृष्णप्रसाद भट्टराईबाट पार्टी सदस्यता लिएकी कार्कीले भट्टराईसँग निकै समय नजिक भएर काम समेत गरेकी रहिछन् ।

नेपाल अधिराज्यभरीबाट स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधि मध्ये उनी नै सबैभन्दा ज्येष्ठ जनाप्रतिनिध हुन् । टिकट दिने क्रममा आफ्नो पार्टी  काँग्रेसले अन्तिम समयमा टिकट दिएको भएपनि चुनावी तयारी खासै नगरी नगरप्रमुख भन्दा चार हजार बढी मत ल्याएर चुनाव जितिन्–त्यो पनि एक पैसा खर्च नगरी । यसको राज खोल्दै उनले भनिन्, “राजनीति प्रति त्याग, तपस्या, १० वर्षे जेल जीवन बिताएको बुझेर जनताको माया र सहानुभूतिले जितेकी हुँ ।”

घर–घर पुगेर भोट नमागेको भन्दै अघिल्लो निर्वाचनमा घनश्याम भुषाललाई हराउने मतदाताले भने कार्कीलाई सानदार ढंगले जिताएको देखिन्छ । कार्की भन्छिन्,“म जहाँजहाँ कार्यक्रम हुन्थ्यो त्यहाँ मात्र जान्थे । अन्तिम समयमा सबैलाई थाहा भयो एउटी बुढी उठेकी छे भनेर सबैले मलाई भोट दिए ।”

उपप्रमुख शान्ति कार्कीसँगको भिडियो कुराकानी :

विवाह किन नगर्नुभएको भन्ने प्रश्नमा रमाईलो जवाफ दिंदै उपप्रमुख कार्की भन्छिन्,“आफू जेल जादाँ–जादाँ र भाग्दा–भाग्दा हैरान भएँ, खै कसरी विहे गर्नु !”

स्वास्थ्य बारेको जिज्ञासामा उनी भन्छिन्,“पहिले राजनीति गर्दा प्रहरीको कुटाईले ढाडमा समस्या भएको थियो, अहिले जस्तो औषधी नभएकोले उपचार गर्न पाईन तर अहिले सम्म अरु केहि रोग लागेको छैन ।”

स्थानीय तहमा निर्वाचित भएपछि जनताको काम पनि गर्नुपर्ला कसरी भ्याउनु हुन्छ भन्ने प्रश्नमा उनी भन्छिन्,“विहान ४ बजे उठेर मन्दिर घुम्छु । त्यहाँ पनि भेटघाट हुन्छ, त्यसपछि कहाँकहाँ प्रोगाम छ, त्यहाँ गइहाल्छु । म पाको उमेरकी भएपनि मलाई दौडधुप गर्न र बोल्न केहि समस्या छैन ।”

शेरबहादुरको नेतृत्व प्रति खासै आलोचना नगरेकी कार्कीले पार्टी धर्म निभाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको भने कडा आलोचना गर्दै भनिन,“अब आकाशमा रेल चलाउने, पानी जहाज चलाउने कुरा भएका छन् । यहाँ जनताले हिड्ने राम्रो बाटो पनि पाएका छैनन् । पदमा बसेपछि सोचेर मात्र बोल्नुपर्छ । गर्नुभन्दा पहिले बोल्नु राम्रो हुँदैन । प्रधानमन्त्रीको प्रशासन नै ठिक छैन । हामीलाई नगरपालिका चलाउन निकै कठिन छ । हामीले जनताको लागि काम गर्दै जान्छौँ ।  बिचमा आएर प्रदेशले काम रोक भन्छ । पार्टी बेग्लाबेग्लै भएकाले कुरै मिल्दैन ।”

काँग्रेसको नेतृत्व प्रति चित्त नबुझेपनि उनी भन्छिन्,“हामीलाई धेरै समस्या छ । कांग्रेसपछि पर्नुको कारण राम्रो नगरेर हो तर आफ्नो पार्टीको विरुद्ध बोल्नु पनि भएन । भोगेको अनुमानले त सतर्क हुनुपर्ने हो तरपनि सर्तक भएजस्तो लाग्दैन ।”

आफूले एक रुपैयाँ पनि आर्थिक हिनामिना नगरेको बताउने कार्कीले जनताको काममा निरन्तर लागेको बताउँदै अहिलेको टिमले बाटो बनाउने र अब आउने टिमले त्यसमा सरासर हिड्ने बताउँछिन् । जनताको काम गर्न वडामा वडाध्यक्ष भएको बताउँदै उनीहरुले जनताको काम नगरेमा वा गर्न नसकेमा आफूले जस्तोसुकै सहयोग गर्न समेत पछि नपर्ने बताउँछिन् ।

तराईको खास समस्या के हो भन्ने प्रश्नमा उनी भन्छिन्,“तराईमा दाइजोको समस्या छ, त्यहि कारणले मानिसको सम्बन्ध विच्छेद पनि बढेको छ । जसले दाइजो लिन्छ, उसैले दाइजो हटाउनु पर्छ भन्दै हिड्छ । हामीले यसको लागि धेरै काम गरिसकेका छौँ तरपनि दाईजो लिनेदिने चलन हटेको छैन । हामीले छोरीहरुलाई  पढाउनको लागि पनि विभिन्न विद्यालयहरुमा काम गरिरहेका छौँ ।”

न्याय सम्पादनको लागि छुट्टै हल बनाएर जनतालाई न्याय दिने काममा भने आफूले निकै गरिरहेको बताउँछिन्–उपप्रमुख कार्की ।

आम मान्छेहरु काँग्रेसलाई बूढो पार्टीको रुपमा संज्ञा दिन्छन् । झट्ट हेर्दा त्यस्तै देखिन्छ । स्थानीय सरकारको गाउँपालिका मध्ये सबैभन्दा कम उमेर २१ वर्ष ५ महिना २८ दिन मै नौकुण्ड गाउँपालिकाको उपप्रमुख बन्न सफल सिर्जना तामाङ्ग एमालेबाट निर्वाचित हुन् भने शिवराज नगरपालिका कपिलवस्तुकी सबैभन्दा कान्छी नगरपालिकाकी उप–प्रमुख २३ बर्षीय शिव कुमारी चौधरी पनि एमालेबाटै निर्वाचित जनप्रतिनिधि हुन् ।

अझ चाखलाग्दो घटना त के छ भने सबैभन्दा कान्छी चौधरी १८ बर्षको उमेरमा विवाह गरी ४ बर्षीय छोरीसहित चुनावी अभियानमा होमिएकी थिइन् भने नेपाली कांग्रेसबाट निर्वाचित विरगंज महानगरपालिकाकी सबैभन्दा वृद्ध ८८ बर्षीय शान्ति कार्की आजीवन अविवाहित राजनितिज्ञ हुन् ।

कार्की भन्दा कम उमेरमै आफूलाई कमजोर ठानी घरबाहिर निस्कन नचाहने वा यो धर्म गर्ने उमेर हो भन्दै सामाजिक संलग्नता र दायित्वबाट पछि हट्ने आम नेपाली हजुरबुवा हजुरआमाहरुका लागि शान्ति कार्की मार्गदर्शक हुन् । प्रेरणा हुन् । आस्था पुञ्ज हुन् । नेपाल आमाकी एक संघर्षशील छोरी शान्ति कार्की प्रति म दिलबाटै सलाम गर्छु ! उनको समाजसेवी ईच्छा पुरा गर्न राष्ट्रदेव पशुपतिनाथ सहित उनले पुज्ने देवी देवताले साथ दिउन भनी प्रार्थना समेत गर्दछु ।

यो पनि पढनुहोस्

कान्छी उपाध्यक्षलाई बिहेको भन्दा जनताको चिन्ता

स्थानीय सरकारमा सबैभन्दा कान्छी २३ बर्षीय आमा र सबैभन्दा जेठी ८८ वर्षीय अविवाहित हजुरआमा

प्रतिक्रिया दिनुहोस्