बर्बरिकको खोजीमा झापादेखि काठमाडौंसम्म



१६ माघ २०७५, काठमाडौं

केही कालो पोशाक लगाएका अपरिचित युवायुवतीहरु हातमा रातो झन्डा बोकेर क्रान्तिकारी गीतमा नाच्दै मंचमा देखा पर्छन र गीत सकिएसँगै महाधिबेशन लेखिएको रातो ब्यानर टाँग्न थाल्छन। त्यहि युवाहरुको भिडमा एक जना आधा बैस कालो भद्गाउले टोपी लगाएको व्यक्ति पनि हुन्छन। त्यसै क्रममा क्षितिजबाट दुई जना मान्छेहरु हल्लाखल्ला गर्दै मंचतिर आउछन। मन्चमा पुगे पछि ति आधा बैसे व्यक्तिलाई अभिवादन गर्दै अर्को व्यक्तिले चिनाउछ, उहा लेखक। हाम्रो महाधिवेशनको अतिथि। आधा बैसे व्यक्तिले स्वागत स्वरुप हात मिलाउदै भन्छन लेखक ज्यू ! म बर्बरिक। यहालाई हाम्रो महाधिवेशनमा स्वागत छ।

त्यसै क्रममा महाधिवेशनको उद्घाटन र बन्दसत्र सकिन्छ। बन्दसत्रबाट पार्टीको महासचिवमा कमरेड बर्बरिकलाई सर्बसम्मत चयन गरेको घोषणा गर्दछ। लेखक बर्बरिकको भित्री वास्तविकता बुझ्न गोप्य तरिकाले लाग्छ। सरकार विरुद्द र राजाको बिरुद्द लागेको भन्दै बर्बरिकलाई पक्राउ गर्न प्रहरी खट्छ। प्रहरीले खोजि गरिरहेको भए पनि भूमिगत रुपमा बर्बरिक प्रहरीको आँखा छल्दै कार्यकर्ता माझ आउजाउ गरिरहन्छन्।

देशमा सरकार विरुद्द मोर्चाबन्दीसँगै आन्दोलन चल्छ। वीर हस्पिटलको शैयामा रहेर पनि गणेशमान शिंहले आन्दोलनको नेतृत्व गर्छन भने मनमोहन अधिकारी र बर्बरिकले भूमिगत रुपबाट अर्को मोर्चा समाल्छन्। सबैतिर बर्बरिकको मात्रै चर्चा चल्छ । बर्बरिकको भाषण सुन्न सबै उत्साहित हुन्छन्।

एक दिन बर्बरिकलाई राजा विरेन्द्रले आफुसँग दरबारमा भेट गर्न निम्तो दिन्छन्। बर्बरिक पनि भेट गर्न जान्छन्। राजा र बर्बरिक बीच देशको अवस्था प्रति गम्भीर कुराकानी हुन्छ। बर्बरिकाले राजा सामु आफ्नो माग अघि सार्छन। राजा उसको माग प्रति सकारात्मक हुन्छन। यो कुरा सगै रहेका सेनापतिलाई मन पर्दैन। राजा र बर्बरिक फेरी भेट्ने बाचा सहित बिदा हुन्छन्। सेनापतिले राजा सामु बर्बरिकलाई ठिक पार्न आफुलाई आदेश दिन अनुरोध गर्छन तर राजा बर्बरिकले देशको लागि राम्रो र गम्भीर कुरा गरेकोले अब उसँग सहकार्य गरेर अगाडी बढ्न सकिने भन्दै सेनापतिलाई बताउछन।

राजा बर्बरिक प्रति सकारात्मक देखिएपछि रिसले चुर बनेका सेनापतिले रानीलाई सबै कुराको पोल लगाइदिनछन्। रानीले आफुले अब यस्तो कुरा सहेर नबस्ने जबाफ फर्काउछिन्। केहि बेरमा सबैतिर कोलाहल फैलिन्छ। राष्ट्रिय र अन्तराष्ट्रिय समाचारहरुले बिशेष रुपमा समाचार प्रशारण गरिरहेका हुन्छन, बर्बरिक र जीवराज आश्रितको सवारी दुर्घटनामा परि मृत्यु भयो।

बर्बरिकको श्रीमती सिता र दुई छोरीहरु वेदनामा रोइरहेका हुन्छन जीवराज र बर्बरिकको लासमा मनमोहनले पार्टीको झण्डा ओडाउछन भने लेखकले देशको झण्डा ओडाउछन। दुवै जनाको लासलाई दाहसस्कारको निम्ति लगिन्छ अनि नाटक बर्बरिक सकिन्छ।

तिनै नाटकका बर्बरिक हुन् जननेता मदन भण्डारी। भण्डारीको जीवनीमा आधारित नाटक बर्बरिक काठमाडौंको नाट्य कुञ्ज थापागाउँ नयाँ बानेश्वरमा मंचन भइरहेको छ। चर्चित लेखक,  साहित्यकार तथा नेकपाका नेता प्रदिप नेपालको उपन्यास बर्बरिकलाई नाट्य रुप दिएर झापाका भरत गुराँगाइ यतिखेर बर्बरिक अर्थात मदन भण्डारी खोज्दै झापादेखि काठमाडौंसम्म आइपुगेका छन्। नाटकलाई जीवन बरालले निर्देशन गरेका हुन् भने सबै कलाकारहरु विराटनगर स्थित झोराहट नाट्य समूहका रहेका छन् ।

उपन्यासमा जस्तै महाभारतका एक शसक्त पात्र बर्बरिकसँग मदन भण्डारीलाई नाटकमा दाजिएको छ। भीमको नाति बर्बरिकाले आफ्नो कुशल क्षमता देखाउन नपाई मर्नु परेको महाभारतको कथालाई भण्डारीको जीवनसँग तुलना गर्दै यो उपन्यासमा देखाइएको छ।

वि.स. २०४६ देखि २०५० सम्मको राजनीति गतिविधि, संयुक्त जन-आन्दोलन, र दुई नेता मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय दासढुङ्गा दुर्घटनाका विषयहरुलाई समेटेर लेखिएको उपन्यास भित्रको मुख्य घटनाक्रमलाई समेटेर नाटकमा देखाइएको छ। नाटकमा अभिनय गर्ने प्रत्येक पात्रहरु अथवा कलाकारहरुले आफ्नो भूमिकालाई जीवित रुप दिन सकेको हुँदा नाटकको उचाई अझ बढिरहेको पाहिन्छ।

नाटक हेर्दा, बर्बरिकको रहस्यमय हत्य के कारणले भएको थियो? किन भएको थियो ? यसको सत्यतथ्य पट्ट लगाउनको निम्ति यो नाटकले सरकारलाई प्रश्न तेर्साइरहेको प्रष्ट हुन्छ। आफ्नो तत्कालिन महासचिवको रहस्यमय हत्या भएको २३/२४ बर्षपछि दुई तिहाईको सरकार बनाएको नेकपाले किन रहस्य खोज्न कन्जुस्याई गरिरहेको छ, यतिखेर यो सबैको चासोको विषय बनेको छ।

देशलाई माया गर्नेहरुले छुटाउनै नहुने, मदन भण्डारीलाई सम्मान गर्नेहरुले हेर्नै पर्ने, अनि कम्युनिष्ट विचारधारा बुझ्न चहानेहरुले खोजि खोजि हेर्नुपर्ने नाटक हो बर्बरिक। एउटा उपन्यास भित्रको कथालाई नाटकीय रुपमा पस्केर एक पल्ट फेरी जीवित बनाउन सफल विराटनगर स्थित झोराहट नाट्य समूह र बर्बरिक नाटकका सबै टिमप्रति हार्दिक आभार।

 

प्रतिक्रिया दिनुहोस्