१४ माघ २०७५, काठमाडौं
सोलुखुम्बु लगायत आसपासका क्षेत्रमा भारी हिमपात भएपछि त्यहाँको जनजीववन कष्टकर बनेको छ । सामान्य रुपमा चिसो ठाँउ भनेर चिनिने सोलुखुम्बुमा आगामी वर्षाहरुको तुलनामा अत्याधिक चिसो महसुस भएको सोलुखुम्बुबासीहरुको भनाई छ ।
सामान्य रुपमा हिमपात भईरहने क्षेत्र भएपनि गएराती भने भारी वर्षा भई कुनै साना तथा ठुला यातायातका साधनहरु ठप्प बनेको जनाईएको छ । काठमाडौंबाट सोलुखुम्बु जाने अधिकाशं यातायातका साधनहरु ओखलढुङ्गामै रोकिएको प्रहरीले जनाएको छ ।
साना तथा ठुलो मालवाहक सवारी साधनहरु पनि सडकमा हिउँ परेपछि बाटैभरि रोकिएका सोलु पत्तालेस्थित प्रहरी चौकीले जनाएको छ । सवारी साधन नचल्दा यात्रुहरुले सास्ती खेप्नु परेको छ । सडकमै सवारी साधन रोकिएपछि केही यात्रुहरु हिँडेर यात्रा गरिरहेका छन्, भने केही यात्रुहरुले गाडी नै पर्खिरहेको चौकीले जनाएको छ ।
कुनै पनि उडान भएन–
मौसम प्रतिकूलताका कारण जिल्लामा अवस्थित दुई ओटा विमानस्थलमा कुनै उडान हुने सकेको छैन ।
सोलु फाप्लु तथा सोलु लुक्लामा समेत अवस्थित विमानस्थलमा दिनहुँ करिब १० देखि २० उडानहरु हुने भएकोमा आज भने कुनै पनि एयरले उडान भर्न नसकेको बताईएको छ ।
साथै जिल्लाका अधिकाशं ठाँउहरुलाई हिउँ तथा कुहिरोले ढाकेको कारण हेलिकप्टर समेत उड्न नसक्ने स्थिती भएको त्यहाँका स्थानीयहरु बताउँछन् ।
अधिकाशं स्थानीयहरु जाडो छल्न बाहिरै भएपनि त्यहाँ रहेका केटाकेटी, बुढाबुढी तथा पश–चौपायहरुलाई चिसोको बढि प्रभाव परेको बताईएको छ ।
सोलुखुम्बुको पत्ताले, रत्नाङ्गे, तामाखानी, स्यालघुरी डाँडा, जुनबेशीसहित माथिल्लो क्षेत्रमा अधिक हिमपात भएको जनाईएको छ ।