श्री राम माध्यमिक विद्यालयले श्रीपञ्चमीका दिन हीरक महोत्सव मनाउने



१२ माघ २०७५, काठमाडौं

धनकुटा पाख्रिवास–७ मुगामा अवस्थित् श्री राम माध्यमिक विद्यालयले यही माघ २७ गते अर्थात श्रीपञ्चमीका दिन ७२ औं अभिभावक दिवस तथा हीरक महोत्सव मनाउने भएको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा विद्यालयका आजिवन सम्मानार्थ अध्यक्ष अजितनाराण सिंह थापाले पत्रकार सम्मेलन गर्दै उक्तबारे जानकारी गराएका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्णबहादुर राईको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आजिवन सम्मानार्थ अध्यक्ष थापाले उक्त अवसरमा हीरक जयन्ती स्मारिका प्रकाशन गर्नेबारे पनि जानकारी गराए ।

उनले भने,‘यो महोसत्वलाई भव्य रुपमा सम्पन्न गर्नको लागि म यही मञ्चबाट सम्पूर्ण मुकावासी तथा धनकुटेली आम अभिभावक तथा आमा–बुवालाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आग्रह गर्दछु ।’

त्यस्तै कार्यक्रममा उक्त विद्यालयका पूर्व प्रधानाध्यापक चिरञ्जिबी घिमिरेले आफ्नो अनुभव सुनाएका थिए । उनले विद्यालयले स्थापना कालदेखिनै अहिलेसम्म सम्पूर्ण मुगावासीको मन जितेको र आगामी दिनमा पनि यसले आफ्नो ऐतिहाँसिक अस्तित्वलाई जोगाउन सकोस भन्ने कामना गरेका थिए । त्यस्तै, उनले विद्यालयले मनाउने महोत्सव पूर्ण रुपमा सफल होस भन्ने पनि शुभकामना दिएका थिए ।

त्यस्तै, कार्यक्रममा विद्यालयका गतिविधि तथा कार्यक्रमको औचित्य र वर्तमान अवस्थाबारे प्रकाश पार्दै उक्त विद्यालयका शिक्षक तथा हीरक जयन्ती स्मारिकाका संयोजक टेकमणि पौडेलले पनि महोत्सव सफल हुने विश्वास दिलाए ।

उनले भने,‘हामीले आयोजना गर्ने यो जयन्ती मुगालाई हेर्ने ऐना हुनेछ । त्यस्तै, स्मारिकाले पनि विद्यालयको ईतिहासलाई छर्लङ पार्न सहयोग पुग्नेछ । र, यो ऐतिहाँसिक दस्तावेजपनि बन्नेछ।’

त्यसैगरि मुगाली थापा क्लबका काठमाडौं उपाध्यक्ष ईन्द्र बहादुर थापाले पनि महोत्सव सफल बनाउनको लागि आफूहरुले कुनै कसर बाँकी नराख्ने विश्वास दिलाए । उनले भने,‘म यो विद्यालयको पूर्व विद्यार्थी भएको नाताले पनि कार्यक्रम सफल बनाउनु हामी सबैको दायित्व हो । यसमा हामी खरो रुपमा उत्रिन्छौं ।’

थापाले हीरक महोत्सव सफल बनाउनकोलागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने भन्दै अपिलसमेत गरे ।

कार्यक्रममा गान्धी स्मृति प्रतिष्ठानका अध्यक्ष अर्जुनबहादुर थापा, अर्थ मन्त्रालयका उपसचिव शिशिर घिमिरेले महोसत्व सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्