
१२ माघ २०७५, इटहरी
सुनसरीको इटहरीमा मदन भन्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता शनिवारबाट सुरु भएको छ ।
मोफसलकै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको उद्घाटन खेलमा मेची नेत्रालय काँकडभिट्टा विजयी भएको छ । क्यामरुनको दाफिन्स फुटबल टिमलाई पेनाल्टीमा ४–३ गोलले हराउँदै मेची नेत्रालय काँकडभिट्टा दोस्रो चरणमा प्रवेश गरेको छ ।
निकै प्रतिस्प्रर्धात्मक खेलमा प्रतियोगिता भर गोल गर्ने अवसर निक्कै भए पनि गोल हुन सकेन । प्रतियोगिताका म्यान अफ द म्याच नेत्रालयका गोल रक्षक दीप कार्की घोषित भएका छन् । उनले नगद २० हजार प्राप्त गरेका छन् ।
प्रतियोगिताको नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगतवहादुर विश्वकर्मा सुनारले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री सुनारले शान्तिपूर्ण तरिकाले देशको विकास गर्न सकिन्छ भन्ने कुराको ज्ञान मदन भण्डारीले वाँढेको र त्यस्तो नेताको स्मृतिमा आयोजना गर्नु उहाँको योगदानमा थप प्रगाढ हुने बताए ।
कार्यक्रममा इटहरी उपमहानगरका प्रमुख द्वारीकलाल चौधरीले इटहरी खेल मैत्री सहर बन्नको लागि प्रतियोगिता महत्वपूर्ण रहने बताए ।
राष्ट्रिय जागृति क्लब इटहरीले आयोजना गरेको प्रतियोगितामा ८ टोली सहभागी छन् । प्रतियोगिताको फाइनल खेल माघ १९ गते हुनेछ ।





