अवसर पाउने महिलाले काम गर्न सकेनन् भने भोलि त्यसैलाई नजिर बनाईन्छ : नगरप्रमुख प्रभा बराल



सानै उमेरदेखि राजनीतिमा क्रियाशील प्रभा बराल तत्कालिन नेकपा एमाले प्रदेश ३ की सदस्य समेत हुन्। महिला विभेद कानुनी रुपले अन्त्य भएपनि व्यवहारीक रुपमा रहेको भन्दै त्यसलाई अन्त्य गर्न आफू निरन्तर लागिरहेको बताउने बरालसँग परिवर्तन खबरकर्मीले गरेको कुराकानीको आधारमा तयार पारिएको विशेष लेख :

आफ्नो जीवनको उर्बर समय पार्टी काम र सामाजिक रुपान्तरणमा बिताएकी प्रभा बराल अहिले चितवन जिल्लाको राप्ती नगरपालिकाकी प्रमुख हुन्। नेपाल भरका थोरै नगरप्रमुख महिला मध्ये आफू छानिंदा गर्व गर्ने बराल आफ्नो जिम्मेवारी अत्यन्त महत्वका साथ पुरा गर्नेमा कुनै कसर नराख्ने बताउँछिन्। संवादका क्रममा उनी प्रस्टयाउँछिन् ,”अहिले नेतृत्व गर्ने महिलाहरुले सक्षमताका साथ काम गर्न सकेनन भने भोलि त्यसैलाई नजिर बनाएर नेतृत्व दावी गर्ने महिला माथि प्रश्न उठ्छ। यदि हामीले सक्षमताका साथ नेतृत्व गर्न सक्यौँ भने भोलिका दिनमा सजिलो हुन्छ।”

नगरप्रमुख बरालसँग गरिएको भिडियो अन्तरवार्ता :

वर्तमान जननिर्वाचितहरुको काममा आफ्नो भविष्य मात्र हैन, संघीयताकै भविष्य जोडिएको बताउँदै जनतालाई परिवर्तनको प्रत्याभूति दिन पूर्वाधार विकासमा आफूले जोड दिएको बताईन। अहिले सम्म के गर्नुभो भन्ने प्रश्नमा उनी भन्छिन्,”अहिले घरघरमा खानेपानीका धारा छन्, बाटोहरु भित्रभित्रसम्म खुलेका छन्, विद्युतका पोलहरु र टेलिफोनका लाइनहरु पुगेका छन् । त्यसको साथै प्रशासकीय काम र जनतालाई दैनिक दिने सेवाहरुमा सहजता थपिएको छ ।

कामको सहजता र पारदर्शीतालाई ध्यान दिँदै अनलाइन सिस्टमबाट सबै कामहरु शुरु गरिएको छ। योजना छनोटमा टोल-टोलमै पुगेर जनतासँग प्रत्यक्ष छलफल गरी जनताकै सुझाव अनुसार प्राथमिकता निर्धारण गरी विकास निर्माणको काम गरिरहेका छौँ। तत्कालीन एमालेबाट ११ र काँग्रेसबाट २ गरी १३ वडामा दुई पार्टीले जितेको भएपनि पार्टीगत विभेद नगरी विकास निर्माण गरेको र प्रत्येक वडालाई १ करोड २५ लाखका दरले रकम विनियोजन गरिएको छ।”

पहाड र तराईमा विभाजित राप्ती नगरपालिकामा विकास योजना र कामका प्राथमिकता फरक रहेको बताउँदै पहाडी क्षेत्रका विकट ४ वडाहरुमा कमजोर आर्थिक अवस्था, बालिबालिकाको कमजोर शैक्षिक अवस्था र विद्यालय शिक्षा पूरा नगरी ड्रप आउट हुने अवस्थालाई अन्त्य गर्नुपर्नेमा जोड दिएको समेत नगरप्रमुख बरालले बताईन। शैक्षिक संस्थाको भौतिक पूर्वाधार राम्रो भएपनि शैक्षिक गुणस्तर अत्यन्त कमजोर रहेको बताउँदै जिम्मेवार ढङ्गले शिक्षण सिकाई नभएको कारण समस्या निम्तिएको उनको बुझाई छ। त्यसलाई अन्त्य गर्न अबको ध्यान गुणस्तरीय शिक्षणलाई वृद्धि गर्नमा केन्द्रित गर्ने बताईन । निरन्तरको पहलले विस्तारै शैक्षिक गुणस्तर वृद्धि हुनेमा भने उनी विश्वस्त छिन्।

५ बर्षभित्र राप्तीका जनताले के पाउँछन् भन्ने प्रश्नमा नगरप्रमुख बराल भन्छिन् :

१) सबै बालबालिकालाई नियमित रुपमा विद्यालय जाने र विद्यालय नछोड्ने वातावरण सिर्जना गर्ने ।
२) नगरपालिका र वडा भवनहरु निर्माण गर्ने ।
३) सजिलो र पारदर्शी ढङ्गले जनतालाई सेवा दिने ।
४) कतै पिच, कतै ढलान, कतै उच्चस्तरीय ग्राभेल गरेर सबै ठाउँहरुमा बाटो बनाउने छौँ ।
५) पर्यटन र कृषि क्षेत्रमा योजनाबद्ध विकासको थालनी गर्नेछौँ ।

पर्यटन क्षेत्र विकासको लागि ५-७ वटा डिपिआर नै तयार गरिसकेका छौँ । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको क्षेत्रमा हामीले एउटा खुल्ला चिडियाखाना र त्यसमा जोडेर पार्क निर्माण गर्दैछौँ । त्यसैगरी परेवाकोटमा टावर राखेर त्यसलाई पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्दैछौँ । कृषि क्षेत्र विकासको लागि पहाडी भू-भागमा बाख्रा पालन, मौरी पालन, चिउरी, फलफूल र तरकारी खेतीहरु गरेर त्यहाँको उत्पादनलाई सजिलैसँग बजारमा बेच्ने वातावरण सिर्जना गर्छौ । समथर भू-भाग मध्ये दक्षिणमा माछापालन र तरकारी खेती, उत्तरमा बाख्रा पालन र अन्य क्षेत्रमा तरकारी खेती गरेर त्यी समुदायको जीवनस्तर उठाउने योजना छ ।” दुध र तरकारीमा आत्मनिर्भर आफ्नो नगरपालिकाले त्यसलाई अझ बढी प्राथमिकता दिनेमा समेत उनले जोड दिईन् ।

प्रतिक्रिया दिनुहोस्