ढुङ्गाको भरमा जीवन जीउनेहरुको पीडादायी संघर्ष



७ माघ २०७५, काठमाडौँ

जाडो होस् या गर्मि कुनै कुराको प्रवाह नगरी हरेक दिन बिहानै ६/७ बजे देखि चाबहिलको धुलाम्मे सडक किनारामा ढुंगा बेच्न बस्छन बुटवालका आशिष कुशवारिय । चाबहिल नजिकै रहेको हेल्पिङ्ग हेन्ड्स पछाडी एउटा सानो कोठा लिएर श्रीमती र छोराछोरी सहित बस्ने २४ बर्षिया कुशवारिय बिगत १० बर्ष देखि ढुंगालाई सिलौता र जातोको रुप दिएर बेच्दै आफ्नो दैनिकी गुजारी रहेका छन्।

चावहिलकै एक स्कुलमा चार कक्षासम्म पढेका कुशवारियले आफ्नो बुबा बिरामी भएको कारण बिचमै पढाई छाडेर सिलौटा लोहोरो बनाउन थालेको थिए। पहिले बुबाले उक्त काम गर्ने गरेको र त्यैबाट निष्किएको कमाईले बिहान बेलुकाको छाक टार्दै आएको हुँदा बुबा बिरामी परेपछि परिवारमा समस्या आएकोले गर्दा आफुले पढाई छाडेर सिलौटो लोहोरो बनाउने पेशा रोजेको उनि बताउछन।

 

कुनै बेला सिलौटा बनाउन र बेच्न भ्याई नभ्याई हुने गर्थ्यो। व्यापार मालामाल थियो तर यतिबेला आफ्नो पेशाले जसोतसो छोराछोरीलाई खानलाउन सकिरहेको भएता पनि नगरपालिकाले दुखादिने गरेको गुनासो पोख्छन। परिवारको दयनीय अवस्था र गरिबी कै कारण आफुले सडक किनारामा यो पेशा रोजेको बताउने उनि नगरपालिकाले आएर सामान लगिदिने, सिलौटा फुटालिदिने र पैसा समेत माग्ने गरेको बताउछन।

कुशवारिय भाबुक हुदै भन्छन , १० बर्ष भयो यहाँ सिलौता बनाएर बेचेको तर पनि के गर्नु आएर पैसा माग्छन नदिए सामान गाडीमा लगेर जान्छन फिर्ता लिन महिनौ पर्खनुपर्छ। फिर्ता भइहाले पनि सामान तोडफोड भएको अवस्थामा हुन्छ।

यस्तै दुखेसो पोख्छन लुम्बिनीका २२ बर्षिया गरण पथरकट्टा। श्रीमती र बुबा आमा सहित ओम हस्पिटल पछाडी एउटा साँघुरो कोठामा बस्छन उनी। उनको दुखेसो पनि नगरपालिकासगै देखिन्छ। हामी गरिब छौ सटर भाडामा लिएर सिलौटा बेच्न सक्दैनौ बाच्नको लागि चोर्नु पकेट मार्नु भन्दा सडक किनारमा धुलो धुवासँग जुध्दै ब्यापार गर्दा पनि नगरपालिकाले टिक्न दिदैन पथरकट्टा सुनाउछन।

पहिले जस्तो आजकाल सिलौटाको व्यापार हुन छाडेको र दुई तिन दिनमा मरितरी एक दुई वटा बिक्रि हुने उनी बताउछन। पाल्पा, बुटवल, विरगंज र भारतबाट लगभग ३५० को दरले ढुंगा किनेर ल्याउने र दुख गरेर सिलौटा बनाउने तर बेच्दा खेरि आफु मार्कामा परेर भए पनि परिवार पालनको निम्ति बेच्नुपर्ने बाध्यता रहेको पथरकट्टा बताउछन।

५० रुपैयाँ देखि ३०० सम्मको लोहोरो र ४०० देखि ३५०० सम्मको सिलौटा पाईने भएता पनि ग्राहकहरु ३५०० को सिलौटालाई १००० मा माग्ने गरेको सुनाउछन। दिउँ घाटा परिन्छ नदिउँ परिवार पाल्न मुस्किल छ उ सुनाउछ्न।

गरण पथरकट्टाको नजिकै अर्को पसल छ बुटवलकै अर्जुन कुशवारियको। २० बर्षिय अर्जुन दाजु भाउजुसँग हेल्पिङ्ग हेन्ड्स पछाडी बस्छन। पड्दा पड्दै परिवारको आर्थिक समस्याले विचमै पढाई छाडेर दाजु भाउजुलाई बिगत ४ वर्ष देखि सगाउदै आएको बताउछन। परिवारको दयनीय अवस्थाले गर्दा ढुंगामा छिनो बजारेर आफ्नो भविष्य खोज्नु परेको पनि उनि बताउछन। तिन जनाको अथक मेहनतले जसोतसो परिवार पाल्न सकिरहेको भएता पनि आफ्नो रहरहरु भने कुनैपनि पुरा गर्न नसकिरहेको गुनासो पोख्छन। अरुले जस्तै खान , लाउन र हिड्न रहर भएता पनि सबै रहरमा मात्र सिमित हुने गरेको सुनाउछ्न।

त्यस्तै गुनासो छ, नवलपरासीका २७ बर्षिय अवधेश पथरकट्टाको। ३ छोरी र श्रीमती सहित ओम् हस्पिटल पछाडी बस्ने उनि सिलौटा बेचेर जिविका चलाउन मुस्किल परेको सुनाउछन। हावाहुरी, धुलो धुवा र घाम पानि संगै नगरपालिकाको लखेटाईले व्यावसाय नै छाडेर पलायन हुने अवस्था आएको बताउछन। जाडोमा आफु त छाडौ छोराछोरीलाई समेत एउट बाक्लो लुगा लगाईदिन नसकेको गूनासो पोख्छन। बिहान बेलिका छोराछोरी जाडो भयो भन्दै रुदा पनि आफु नसुने जस्तो गरेर बस्नुपरेको बताउछन। उनले १३ बर्षको उमेरमा ११ बर्षकी केटीसँग मागी विवाह गरे संगै दुबैजना सिलौटा बनाउने पेशामा होमिएका थिए।

कुनैबेला अत्यधिक बिक्रि हुने चाबहिलको सिलौटा पसल यतिखेर मन्द जस्तै हुन पुगेका छन्। दिनानुदिन भएको परिवर्तित विकासका क्रमसंगै मानिसले आधुनिक मिक्सर, ग्यालण्डर जस्ता सामग्री भान्सा कोठामा भित्राएसगै यतिबेला सिलौटा पसलमा भिड कम हुदै गएको छ। कुनै समय बाक्लै भेटिने चाबहिलमा यतिबेला मुस्किलले ५/६ वटा मात्र सिलौटा पसल भेटिन्छ । मुस्किलले ५/६ वटा रहेको सिलौटा पसल पनि विविध समस्याले अझै घट्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्