कोरियन विश्वविद्यालयका उपकुलपति सहितलाई बालउद्धार स्कूलको भव्य विदाई



०६ माघ २०७५, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित श्री बाल उद्धार माविमा दक्षिण कोरिया स्थित गाङ्रुङ वन्जु विश्वविद्यालयबाट आएका उपकुलपति पार्क डुक योङ सहित उच्च स्तरीय प्राध्यापक, चिकित्सकहरुलाई आज विशेष कार्यक्रम गरी विदाई गरेको छ ।

विदाई कार्यक्रमको प्रमुख अतिथि प्रदेशसभा सदस्य कुसुम कुमार कार्कीले कोरियन विश्वविद्यालका उपकुलपति सहितको टोलीले नेपाल भ्रमण वर्ष २०२० भव्य रुपमा सम्पन्न गर्न विश्व विद्यालयमा प्रचार गरि सहयोग गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका विशिष्ट अतिथि नगर प्रमुख उद्धव खरेलले विश्व विद्यालय र स्कूल बीचको सम्बन्ध अझ दरिलो बन्दै नेपालको पर्यटन, शिक्षा र प्रविधिको क्षेत्रमा सहयोग गर्न अनुरोध गरे ।

गाङ्रुङ वन्जु विश्वविद्यालयका उपकुलपति पार्क डुक योङले विद्यालयले गरेको सम्मान जीवनभर सम्झिने बताउदै भविश्यमा सहयोग र सहकार्य निरन्तर रहने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद वजागाँईले विद्यालयमा कोरियन विश्व विद्यालयका उपकुलपति सहितको टोलीले पुर्याएको सहयोगको प्रसंसा गर्दै आगामी दिनमा पनि निरन्तर रहनेमा आशा व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक विनोद पण्डितले गाङ्रुङ वन्जु विश्वविद्यालयले अझ बढि सहयोग र सहकार्य गर्नेमा विश्वस्त हुदै भविश्यमा शिक्षकशिक्षिका आदान प्रदान लगायत शैक्षिक विकासमा विश्व विद्यालयले सहयोग गर्ने बचन दिएको बताए ।

कार्यक्रमको संचालन विद्यालयका शिक्षक वासुदेव गुरागाईँले गरेका थिए भने बूनपा उपप्रमुख रमादेवी राई, बूनपा शिक्षा शाखा प्रमुख त्रिचन भण्डारी, बूनपा १० का कावा अध्यक्ष भुव प्रसाद रेग्मी, कपन बहुमुखी क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष ठाकुर प्रसाद खकुरेल, स्थानीय अधिकार कर्मी हेमा अधिकारी, देवी रेग्मी लगायत विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षकशिक्षिका र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा विद्यालयका छात्राहरुले नृत्य गरेका थिए भने प्रमुख अतिथि, विशिष्ट अतिथि लगायतले भोली फर्किने उपकुलपति लगायत प्राध्यापकहरुको टोलीलाई मायाको चिनो, नेपाली ढाकाटोपी र पश्मिना बर्को ओढाई विदाई गरेका थिए ।

        

प्रतिक्रिया दिनुहोस्