सामाजिक सुरक्षा भत्ता नपाउँदा जेष्ठ नागरिक आक्रोशित



०३ माघ २०७५, वीरगंज

जेष्ठ नागरिकहरूलाई उपलब्ध गराइदै आएको सामाजिक सुरक्षा भत्ता वापतको रकम आठ महिनादेखि भुक्तानी नपाएपछि वीरगंज महानगरका जेष्ठ नागरिक र एकल महिलाहरू आक्रोशित बनेका छन् ।

प्राप्त समाचार अनुसार गत वैशाखमा वितरण गरिएपछि हालसम्म पनि वीरगंज महानगरले एकल महिला र जेष्ठ नागरिकलाई उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा जेष्ठ नागरिकहरू आक्रोशित बनेका हुन् ।

यसैबीच महानगरपालिकाको कार्यालयले आफूहरूले सो रकम बैंकमा पठाइसकेको बताएपछि नेपाल बैंक लिमिटेडको आदर्शनगर शाखामा रकम बुझ्न जानु भएकी एकल महिला र वृद्धहरूलाई सो बैंकले महानगरले पैसा बैंकमा नपठाएको भनेर फिर्ता पठाएपछि अल्मल्ल परेका जेष्ठ नागरिक र एकल महिलाहरूको समूह घरि नगरपालिका घरी बैंक धाउँनु परेपछि आक्रोशित बनेका हुन् ।

यसैबीच यस सम्बन्धमा महानगरपालिकाको लेखा शाखामा बुझ्दा बैंकमा सो रकम पठाइसकिएको तर बैंकले इण्ट्रि नगरेको कारण ढिलाई हुन गएकाले यसमा महानगरपालिकाका कर्मचारीको दोष नभएको भन्दै पन्छिन खोजेका थिए ।

पछि बैंकमा बुझ्दा पनि सामाजिक सुरक्षा भत्ता वापतको रकम महानगरपालिकाले पाठाइसकेको तर कम्प्युटरमा प्रविष्ट हुन नसकेका कारण वितरणमा ढिलाई हुन गएको स्वीकार गरेका छन् । नेपाल बैंक लिमिटेड आदर्शनगर शाखाले आगामी सोमबारबाट सो रकम वितरण गरिने जानकारी समेत दिएको छ ।

यसरी वृद्ध र एकल महिलाहरूले पाउनु पर्ने नैसर्गिक अधिकार सुलभ रुपमा नपाउ“दा नगर प्रमुख र बैंकका कर्मचारीहरूको लापरवाहीको शिकार आफूहरू हुनु परेको माइस्थान निवासी एकजना एकल महिलाले जानकारी गराउनु भयो ।

सहि र यथेष्ट सूचना प्रवाह गरेर जनताको काम सहज ढंगले गर्नुपर्ने सर्वमान्य सिद्धान्तलाई नगरपालिका एवं बैंकका कर्मचारीले धोती लगाउनु बिडम्नापूर्ण कार्य भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्