विकासमा छलाङ् मार्दै बूनपाका ४ वडाहरु



०१ माघ २०७५, काठमाडौं

परिवर्तन खबरको टोलीले आज बूढानीलकण्ठ वडा नं. १०, ११, १२ र १३ का विभिन्न स्थानमा घुमेर विकास निर्माणका कामहरु अवलोकन गर्यो । सरकारले केहि गरेन । नगरपालिकाले केहि गरेन । जनताको लागि गर्ने सरकार नै छैन भन्ने अनावश्यक हल्लाहरु बजारमा चलिरेको समयमा नाङ्गो आँखाले देखिने निर्माण सम्पन्न कामहरु र निर्माणाधीन कामहरुको टिपोट गर्याैं ।

विकास निर्माणले छलाङ मार्दै गरेको अनुभव गर्यौं । विकासमा सहयोगी नगर प्रमुख, उपप्रमुख साथै जनताका समस्याहरु समाधानमा लागिरहने वडाध्यक्ष, वडा सदस्यहरु बिहान सात बजेदेखि राती ९ बजेसम्म पनि खटेको स्थानीय जनताबाट जानकारी पायौँ ।

हाम्रो घुमाईमा जननिर्वाचितहरुसँग समन्वय समेत गरेनौँ । जे देखिन्छ सोहि लेखिन्छ भन्ने हाम्रो बुझाईले यसैलाई छनोटको आधार बनायौँ ।

बूनपा १० स्थित साततल्लेबाट हामीले फोटो खिच्न शुरु गर्यौं । केहि समय अगाडि सम्म धुलाम्मे सडक चिल्लो भएको थियो । धुलोले पुरिने सडक छेउका पसलेहरु मास्क नलगाई व्यापार गरिरहेका थिए । बाटो निर्माणको गति रोकिदाँ पूर्व सांसद तथा परराष्ट्र विद् डा. राजन भट्टराईले सडक विभागका महानिर्देशक सहित मन्त्रालयका जिम्मेवार सदस्य सहित जनप्रतिनिधिसँग छलफल गराउँदा उनलाई विपक्षी काँग्रेसका सांसद सहितको टोलीले आक्रमण प्रयास समेत गरेको थियो ।  त्यसबेला परिवर्तन खबरले डा. राजन भट्टराईको विकास प्रयासमा काँग्रेसको अवरोध (भिडियो सहित), कांग्रेसबाट निर्वाचित माननीयहरु आफ्नै मान घटाउन थाले‘शीर्षकमा भिडियो सहितको समाचार समेत प्रकाशन गरेको थियो ।

डा. भट्टराईको पहल र वडाध्यक्षहरुको निरन्तर क्रियाशीलताले अहिले सात तल्लेबाट आनी गुम्बा सडक निर्माणको गति निकै बढेको देखिन्छ । गत वर्षातमा हिलो र चिप्लोबाट आजित नगरवासीले आउँदो वर्षामा मुक्ति पाउने निश्चित देखिन्छ ।

मध्यरातमा आएको भारी वर्षाको कारण गत भदौमा कपनक्षेत्र डुबेको हल्लाले सिङ्गो राजधानी नै हल्लियो । अलिकति ठूलो पानी पर्ने वित्तिकै कपन मिलनचोक तरकारी बजारमा बाढी आउनु सामान्य जस्तै थियो । विच सडकमा तर्न नसक्ने बाढीले सयौँ तरकारी व्यवसायीले तरकारी गुमाएर ज्यान जोगाउन बाध्य थिए ।

स्थानीय तथा तरकारी व्यवसायीहरु सामान्य पानी पर्ने वितिकै पसल बन्द गरी ज्यान बचाउन बाध्य थिए । सडकमै आउने वर्षाको समयमा सयौँ मोटरसाईकल र साईकल दुर्घटना परी बग्ने गर्दथे । डा. राजन भट्टराईको विशेष पहल र वडाध्यक्षहरुको दिनरातको खटाईले अहिले धमाधम ठूलो ढल हाल्ने काम जारी छ ।

अहिले कपन क्षेत्रमा रहेका दुई ठूला सामुदायिक विद्यालयहरुमा भवन निर्माण धमाधम भईरहेको छ । जनस्वास्थ्यलाई चासो राख्दै नगरपालिकाले स्वास्थ्य केन्द्र बिस्तार लगायतका कामहरु गरिरहेको छ ।

यात्राको क्रममा बाटैमा भेटिएका चार वडामध्ये बूढानीलकण्ठ वडा नं. १३ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठ निकै खुशी हुँदै आफूले चुनावी घोषणा पत्रमा गरेका प्रतिवद्धता भन्दा धेरै काम गरेको बताउँदै थिए । उनका अनुसार वडाभित्र नब्बे प्रतिशत ढल निर्माणको काम सम्पन्न भएको छ । विद्यालय, स्वास्थ्य चौकी, मन्दिर तथा पार्क निर्माण सम्पन्न भएका छन् भने टुपेकको टुकन्चात्वापमा खेलमैदान निर्माणले गति लिएको छ ।

चुनिखेल जोड्ने निर्माणाधिन सडकलाई पुरा गर्न सके चुनावी प्रतिवद्धता भन्दा २०० गुणा बढी काम हुने उनले बताए । त्यसैले उनले सडक निर्माणलाई आफ्नो प्रतिष्ठासँग जोडेका छन् । निकै काम देखिने भएकाले निर्माणाधिन बाटो अवरोध गर्न विपक्षीले निकै प्रयास गरेता पनि अर्थमन्त्री निवास होस वा सिंहदरबार पुगेरै राजन भट्टराईसँग सहयोग माग्नेदेखि सडक डिभिजन कार्यालय र ठेकेदारलाई पटक–पटक दवाव दिनु परेको समेत उनी सुनाउँछन् ।

अन्यमा उनले भने सवैको सहयोगले वडा विकासले छलाङ मारेको छ । भविष्यमा पनि निरन्तर सहयोग पाउने आशा समेत गर्दछु ।

         

प्रतिक्रिया दिनुहोस्