बूढानीलकण्ठ नगरपालिकामा प्रभावशाली सल्लाहकार समिति चयन



२७ पुस २०७५, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाले नगरमा भईरहेको कामलाई थप व्यवस्थित बनाउँदै विकास निर्माणलाई अझ प्रभावकारी बनाउने उद्देश्यले विभिन्न पेशा र व्यवसायमा क्रियाशील १० जना सदस्य रहेको सल्लाहकार समिति चयन गरेको छ।

पछिल्लो नगर कार्यपालिकाको वैठकबाट छानिएका सल्लाहकारहरुमा सुन्दर पुर्कुटी,मिठाराम अधिकारी,रविन अधिकारी, जयराम थापा, अर्जुन पाण्डे, बिन्दा गौतम, दुर्गा प्रसाद आचार्य,भरत पोखरेल, केदार त्रिपाठी र राधाकृष्ण भण्डारी छानिएका छन्।

कस्तो छ त सल्लाहकार समितिका सदस्यहरुको पृष्ठभूमी :

सुन्दर पुर्कुटी
सुन्दर पुर्कुटी नेकपाको ३ नं प्रदेश कमिटिका सदस्य हुन्। लामो समय पार्टीको जिम्मेवारीमा रहेका पुर्कुटी ईमान्दार र नबिझाउने नेताका रुपमा चिनिन्छन। सल्लाहकारमा नियुक्ति हुनुपूर्व समेत मेयरले गर्ने कतिपय निर्णयमा उनले सल्लाहकारको भूमिका निर्वाह गर्ने गरेको बुझिएको छ। पदीय जिम्मेवारी र सन्तुलन कायम गर्न सक्ने क्षमताले पुर्कुटी अन्य सल्लाहकार भन्दा प्रभावशाली हुने सम्भावना देखिएको छ।

मिठाराम अधिकारी
मिठाराम अधिकारी बूनपामा परिचित नाम हो । २०५४ सालको स्थानीय निर्वाचनमा कपन गा.वि.स अध्यक्ष भएका समाजसेवी र विकासवादी नेताको रुपमा परिचित अधिकारी पार्टीगत जिम्मेवारीमा नभएपनि विभिन्न सामाजिक संघ संस्थामा आवद्द भएर समाजसेवामा क्रियाशील छन्। जन सम्पर्क र सामाजिक सक्रियताका कारणले राजनीतिक वा पदीय जिम्मेवारीमा नभएपनि स्थानीय विकास निर्माण र सामाजिक समस्या समाधानमा निरन्तर क्रियाशील छन्।

रविन अधिकारी
रविन अधिकारी पार्टी एकता अघि नेकपा माओवादीबाट नगर प्रमुख पदका प्रत्यासी हुन्। पार्टी एकतापछि एकीकृत कम्युनिष्ट पार्टीको नगर संयोजक बन्नेमा पार्टी भित्रै उनको नाम चर्चामा रहेको बुझिएको छ। पूर्व माओवादी भई राजनीति र समाजसेवामा निरन्तर क्रियाशील अधिकारीको नियुक्तिले पार्टी र विकास निर्माणको कामलाई जोड्ने पुलको रुपमा हेरिएको छ।

जयराम थापा
जयराम थापा अनेरास्ववियुको राजनीतिबाट कम्युनिष्ट राजनीतिमा लागेका हुन्। थापा राजनीतिकर्मी मात्र नभएर अधिवक्ता र समाजसेवी पनि हुन्। हिन्दु र वौद्द धर्मवलम्बिहरुको आस्थाको रुपमा परिचित बूढानीलकण्ठ मन्दिरको व्यवस्थापन गर्न गठित बूढानीलकण्ठ क्षेत्र विकास समितिको अध्यक्ष भई जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गरिसकेका छन्। त्यसको साथसाथै नीजि क्षेत्रको प्रतिष्ठित कलेज लिभरपूल इन्टरनेश्नल कलेजका संस्थापक तथा प्रबन्ध निर्देशक पनि हुन।

विन्दा गौतम
अखिल नेपाल महिला संघ मार्फत महिला हक,हित र अधिकारलाई बोकेर लामो समयदेखि अधिकारको राजनीतिमा क्रियाशील गौतम बूनपा क्षेत्रकी सशक्त महिला नेतृ हुन्। राजनीतिको साथसाथै महिला अधिकारको क्षेत्रमा समेत सक्रिय उनी बूनपा -१० संयुक्त महिला संजाल र महिला मैत्री समूह अध्यक्ष समेत हुन्।

अन्य सल्लाहकारहरु समेत विभिन्न पेशामा अनुभव प्राप्त नगरवासी हुन्। हामी सँग अन्य सदस्यहरुको जानकारीमा नभएकोले अहिले विवरण उपलब्ध गराउन सकिएन, भविष्यमा उनीहरुलाई समेट्ने प्रयास गर्ने छौँ ।

प्रतिक्रिया दिनुहोस्