
२४ पुस २०७५, बिराटनगर
प्रदेश १ को अस्थाई राजधानिको रुपमा रहेको बिराटनगरमा एउटा प्रमुख समस्या मानिन्छ , सडक जामलाई । बिशेष गरी सडकमा लाग्ने तरकारी हटिया र बजारले सडकलाई साँगुरो बनाउदा उक्त सडक जाम हुने गरेको थियो ।
तर यसरी लाग्दै आएको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण भएको छ । दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ । संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजना अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका १ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।
व्यवसायिक कृषि तथा व्यापार आयोजना पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख भानु मैनालीले संरचना निर्माणको काम सकिएकाले अब चाँडै नै तरकारी बजार सञ्चालनमा बताए ।
मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । संघीय सरकारले निर्माण गरेको भएपनि यो प्रदेश सरकारलाई हस्तान्तरण हुनेछ ।





