
२४ पुस २०७५, विराटनगर
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघको) १२ औँ मोरङ जिल्ला अधिवेशनका लागि सभापतिको उम्मेद्वार घोषणा गरिएको छ ।
संघको जिल्ला सदस्य र उर्लाबारी बहुमुखी क्याम्पसका नेवि संघ सभापति रहनुभएका सुजित जसवालले आज बिहान पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला सभापतिमा उम्मेद्वारी घोषणा गर्नुभएको हो ।
माघको तेस्रो साता हुने जिल्ला अधिवेशनका लागि सभापतिमा आफूले उम्मेद्वारी घोषणा गरेको जसवालले बताउनुभयो । आफुलाई मोरङ क्षेत्र नम्बर १ र २ साथै विराटनगर बाहिरका अधिंकाश क्षेत्रीय, नगर र क्याम्पस समितिको समर्थन रहेको जसवालले पत्रकार सम्मेलनमा दावी गर्नुभयो ।
विभिन्न युवा क्लब, सामाजिक संस्था युथ रेडक्रस सर्कल, नेवि संघको क्याम्पस समिति लगायतका विभिन्न संस्थाहरुमा गरेको नेतृत्वले संघको जिल्ला नेतृत्व बहन गर्न सक्ने क्षमता आफूमा रहेको उहाँले बताउनुभयो । सदरमुकाम विराटनगरबाहिर रहेर पनि संगठनको नेतृत्व गर्न सकिन्छ भन्ने उदाहरण आफूले प्रस्तुत गर्न चाहेको जसवालको भनाइ छ । पत्रकार सम्मेलनमा उर्लाबारी बहुमुखी क्याम्पस नेवि संघका पदाधिकारीहरु, नेवि संघ मोरङ क्षेत्र नम्बर २ का सचिव महेन्द्र ठाकुर लगायतको उपस्थिती रहेको थियो ।





