पाटन जेसीजको ४८ औँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न



२३ पुस २०७५, काठमाडौं

सन् १९७० मा स्थापित नेपालकै पुरानो शाखा पाटन जेसीजको ४८ औँ पदस्थापना तथा पुरस्कार वितरण समारोह कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्षमा निर्वाचित भएका जेसी मिजास चित्रकारलाई पद हस्तान्तरण गरिएको थियो ।

शुक्रबार पुल्चोकस्थित याक प्यालेसमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष जेसी सुमनकृष्ण श्रेष्ठले चित्रकारलाई पद हस्तान्तरण गरेका हुन् । करिब एक महिनाअघि वर्ष २०१९ को निम्ति जेसी मिजास चित्रकारको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो ।

निर्वाचित नयाँ कार्यसमितिमा कार्यकारिणी उपाध्यक्षमा जेसी डेजी नापित, उपाध्यक्षमा जेसी दिलिप चौधरी, जेसी प्रवेश मल्ल, जेसी स्याफ्रिन मुल र जेसी जेनिसा खोसी निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै, जेसीसको परम्पराअनुसार सो कार्यक्रममा नवनिर्वाचित अध्यक्ष चित्रकारले महासचिवमा जेसी प्रकृति जोशी, कोषाध्यक्षमा जेसी रोजिना थापा, सहसचिवमा जेसी रेगन महर्जन र कानुनी सल्लाहकारमा जेसी श्रीजेशलाल शिल्पकारलाई मनोनित गरेका छन् ।

प्रमुख अतिथिको रूपमा मन्तव्य दिदैँ ललितपुरका सिडिओ प्रेमराज जोशीले युवाहरु समाजको रुपान्तरणको लागि अझैं यो भन्दा बढि लाग्नुपर्ने आवश्यकता रहेको औँल्याए । ‘पाटन जेसीज नेपालकै पुरानो जेसीज भएको कारणले गर्दा यसले जेसीजका राष्ट्रिय मुद्दाहरूमा समेत काम गर्नुपर्छ’, सिडिओ जोशीले भने ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष चित्रकारले आफ्नो कार्यकालमा पाटन जेसीज अझैं सशक्त भई अगाडि बढ्ने बताए । ‘पाटन जेसीजको संगठनलाई अझैं मजबुत बनाई आफ्नो कार्यकालमा युवाहरुलाई युवामैत्री कार्यक्रम ल्याउँछु र आर्थिक रुपले पनि बलियो बनाउँछु’, अध्यक्ष चित्रकारले भने ।

कार्यक्रममा वर्षको उत्कृष्ट शाखा सदस्यमा जेसी डेजी नापित, उत्कृष्ट आयोग पुरस्कार जेसी प्रकृति जोशी, उत्कृष्ट सामुदायिक विकास कार्यक्रम पुरस्कार जेसी मिजास चित्रकार, उत्कृष्ट शाखा सहयोग पुरस्कार जेसी दिलिप चौधरी, उत्कृष्ट वक्तृत्वकला पुरस्कार जेसी डेजी नापित, दिगो विकास परियोजना पुरस्कार जेसी प्रवेश मल्ल, अध्यक्ष सहयोग पुरस्कार जेसी डेजी नापित, ब्वाईज युनियन सोसियल पुरस्कार जेसी रोनिश पराजुली र वर्ष २०१८ को सर्वोत्कृष्ट जेसीज पुरस्कार जेसी रोजिना थापालाई प्रदान गरिएको थियो ।

सन् २०१९ राष्ट्रिय अध्यक्ष जेसी महेश पौडेलको अध्यक्षतामा ४८ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल जेसीज क्षेत्र ‘ग’ का  लागि निरुपित कार्यकारिणी उपाध्यक्ष जेसी अमिश ढकाल, नेपाल जेसीज क्षेत्र ‘ग’ का  लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी हरिकुमार शर्मा र पाटन जेसीजका पूर्वअध्यक्ष, सदस्य तथा विभिन्न शाखाहरूबाट आएका जेसीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्