कोशी टप्पुमा चरा गणना शुरू



२३ पुस २०७५, इटहरी

कोशी टप्पु आसपासका सिमसार क्षेत्रमा पाइने जलपन्छीको गणना सुरु गरिएको छ । सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन कोशी टप्पु र यसका आसपासका इलाकामा जलपक्षी (पानी चरा) को गणना शुरु भएको हो ।

कोशी पन्छी समाज, हिमाली प्रकृति, नेपाल पन्छी विद संघ र कोशी टप्पु बन्यजन्तु आरक्षको अगुवाइमा शुरु भएको गणना कार्यअन्तर्गत आजदेखि सुरु गरिएको छ । पहिलो दिन शनिवार चतराको सप्तकोसी नदीदेखि कोशी टप्पु बन्यजन्तु आरक्षको उत्तरी सिमाना प्रकाशपुर सम्म गणना सुरु गरिएको छ ।

चराको वास्तविक अवस्था पत्ता लगाइ यसको संरक्षणका लागि आगामी रणनीति तयार गर्न सरकारलाई सहयोग गराउने उद्देश्यले स्थानीय कोशी पन्छी समाजका स्वयंसेवी युवाहरुले चरा गणना सुरु गरेका हुन् ।

सुनसरीको चतराबाट सुरु गरिएको चरा गणना कोशी टप्पु आसपासका क्षेत्रहरुमा ५ दिन सम्म चल्ने कोशी पन्छी समाजका सहसचिव तथा पूर्वी नेपाल जलपन्छी गणना टोलीका संयोजक संजीव आचार्यले  जानकारी दिए ।

कोशी टप्पुका आसपासका क्षेत्रमा चराको क्षेत्रमा काम गर्दै आएका २० जना स्थानीय स्वयंसेवकहरुले चराको गणना गर्नेछन् । डुंगा, जिप सफारी, पैदल गरी गणनाको काम ५ दिनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्