गुणस्तरहीन वस्तु उत्पादन गर्ने प्रदेश १ का तीन उद्योग कारवाहीमा



२२ पुस २०७५, इटहरी

नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने प्रदेश १ का ३ सहित १८ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षमा गुणस्तर मापदण्डलाई पूरा नगरी सामान उत्पादन गर्ने ती उद्योगलाई कारवाही गरेको हो ।

गोरखाली सिमेन्ट उद्योग प्रा.लि. झापा, अन्नपूर्ण सिमेन्ट कम्पनी प्रा.लि. मोरङ र गोल्डेन ब्याट्री प्रा.लि. मोरङ कारवाहीमा परेका छन् ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड पूरा नगरी सामान उत्पादन गर्ने तथा गुणस्तर अनुरुप सामान उत्पादन नगर्ने उद्योगलाई कारवाही गरिएको बताएका छन् । कारवाही गरिएका अधिकांश उद्योगको इजाजतपत्र स्थगन गरिएको तथा उत्पादित वस्तु बिक्रीमा रोक लगाइएको जनाइएको छ । कारवाही गरिएका उद्योगलाई गुणस्तरयुक्त सामान उत्पादन गर्न पत्राचार गरिसकेको बताउँदै गुणस्तरयुक्त सामान उत्पादन नगरे लाइसेन्स नै खारेज गर्ने जनाएको छ ।

विभागले हालसम्म देशभरका ६० वस्तुमा २ सय ५० उद्योगबाट उत्पादित ३ सय ६९ प्रकारका सामग्रीलाई इजाजत दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्