कविता : जसले मात्रै होइन देशै जलाउने गर्छ



२२ पुष २०७५, काठमाडौं

मैले आफ्नो लागि
कहिल्यै उदाईन
मैले कहिल्यै आफ्नो
लागि पानी पारिन
मैले कहिल्यै आफ्नो लागि
फलफूल फलाईंन ।

म आफू रुईरुई
अन्नबाली र फलफूल र सागपात
र घाँसहरू उब्जाईरहें
तर कहिल्यै आफ्नो लागि गरिन ।

मैले आफैं बाटो बनाउँदै
अविरल बगिरहे र समुन्द्रमा समाहित भए
तर कहिल्यै आफू बगेको मजदुरी मागिन ।

म सधैँ आफै थिचिएर
मान्छे र जनावर र भारबाहानलाई बाटो बनी
हिंडाईरहे हिंडाईरहे तर कहिल्यै
ज्याला मागिन ।

म मा मीठा रसका
विभिन्न फलफूल फल्नु र फुल्नुका साथै
अनेकौं विषालु काँडाहरू पनि त उब्जिरहे
तर मैले कहिल्यै असन्तोष जनाइन ।

एकै छातीमा
हामी हुर्केका छौं र त मिलेर अटाएका छौँ
तर कहिल्यै हामीले अग्रगामी सूर्यको
मार्ग रोकेनौं र त चलिरहेछ संसार अविवादित् भई
किनकि हामीमा मुटु छैन र त छैन हामीमा
भावना र स्वार्थ पनि ।

त्यसैले त
ए नाराको घोडा चढ्नेहरू हो
मिल्काऊ तिमीहरूको स्वार्थको विष्ठा
र भर समृद्धिको सपना ती अभावका खाडलहरूमा
निभाऊ ती नाराको आगोहरू
जसले सपना मात्रै होइन देशै जलाउने गर्छ
र दौड यसरी जसरी म दौडीरहेछु
हरेक रातको प्राङ्गणमा प्रदीपको बीउ छर्दै ।

राजबाबु श्रेष्ठ ’सागर’

प्रतिक्रिया दिनुहोस्