चिसापानीमा १५ शैयाको अस्पताल बन्ने भएपछि स्थानीयवासी हर्षित



२२ पुस २०७५, चिसापानी

जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीमा १५ शैयाको अस्पताल बन्ने भएपछि स्थानीयवासी हर्षित भएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाको केन्द्र रहेको चिसापानीबजारमा १५ शैयाको सुविधा सम्पन्न अस्पताल बन्ने भएपछि स्थानीयवासी हर्षित भएका हुन् ।

दुई दशकदेखि प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन हुँदै आएको चिसापानीमा १५ शैयाको अस्पताल बनाउने नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले निर्णय गरेको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताउनुभयो । “दक्षिणी क्षेत्रमा सुविधायुक्त अस्पताल अभाव हुँदा शव परीक्षण गराउन समेत दुई दिनसम्म पैदल हिडेर उदयपुरको गाईघाट तथा जिल्ला अस्पताल दिक्तेल लानुपर्ने बाध्यता छ ।” उहाँले भन्नुभयो, “लामो समयदेखि त्यस क्षेत्रका स्थानीयवासीले भोग्दै आएको समस्यालाई गाउँमै समाधान गराउने उद्देश्यले ढिलै भएपनि १५ शैयाको अस्पताल बनाउन पहल गरिएको हो ।”

दक्षिणी क्षेत्रको पुरानो व्यापारिक केन्द्र चिसापानीबजारमा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्न लामो समयको कसरतपछि सम्भव भएको सदस्य भट्टराईले बताउनुभयो । “देश संघीयतामा गएसँगै सरकारले हरेक स्थानीय तहमा सुविधा सम्पन्न अस्पताल खोल्ने निर्णय गरेको छ ।” उहाँले भन्नुभयो, “जिल्लाको अर्को प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कलाई पनि यसै वर्ष स्तरोन्नति गर्न स्वास्थ्यमन्त्री ज्यूलाई भनेका थियौं  तर, सम्भव भएन । आगामी वर्ष उक्त प्राथमिक स्वास्थ्य केन्द्रसँगै सबै स्थानीय तहमा अस्पताल बनाउन सरकारलाई खबरदारी गरिरहेका छौं ।”

स्वास्थ्य मन्त्रालयले चिसापानीमा १५ शैयाको अस्पताल बनाउने निर्णय गरेपछि सदस्य भट्टराईले आफ्नो फेसबुकमा स्टाटस समेत लेखेर सार्वजनिक गर्नुभएको छ । “राज्यको पुनःसंरचनाको बहस जिल्लामा चर्कोगरी हुँदै गर्दा जन्तेढुङ्गा गाउँपालिकाको केन्द्र कहाँ हुने भनेर कहिलै कसैले विवाद निकालेन । सर्वसम्मत चिसापानीबजार भयो ।” स्टाटसमा भनिएको छ, “बीसौं वर्षदेखि त्यहाँ प्राथमिक स्वास्थ्य केन्द्र चल्यो, त्यसै भेगका नेता ठूलो–ठूलो ठाउँमा पुग्नुभो तर, दुई दशकमा एकदिन पनि डाक्टर बसेनन् । सत्तरीको चुनाव जितेपछि मेरो मुख्य ध्यान ऋणमा डाक्टर लाने कुरामा थियो । यसकारण कि जनताको उपचार त भएन भएन, भवितव्यमा परेको लाश बोकेर नाकमा तितेपातीको मुन्टा घुसारेर कहिले गाईघाट कहिले दिक्तेल हिडेको पीडा मेरो मनमा अमिट बनेर बसेको थियो तर, म सफल भएँ । डाक्टर खटिनुभो, डाक्टर बस्नुभो, आफैले बजेट दिएर पोस्टमार्टम घर बनाउन लगाए । त्यसपछि कसैले कुहिएको लाश बोकेर हिड्नु परेको छैन । हो त्यही चिसापानीमा यो सरकारले १५ शैयाको अस्पताल बनाउने निर्णय गरेको छ । अब स्थानीय बासिन्दा र गाउँपालिकाले जग्गाको व्यवस्था चाँही यथासिघ्र गर्नुप¥यो ।”

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा, खोटेहाङ र बराहपोखरी गाउँपालिकाका स्थानीयवासीलाई लक्षित गरेर चिसापानीबजारमा १५ शैयाको सुविधायुक्त अस्पताल बनाउने पहल गरिएको सदस्य भट्टराईले बताउनुभयो । स्वास्थ्य मन्त्रालयले चिसापानीमा अस्पताल बनाउने निर्णय गरेसँगै निःशुल्क जग्गा उपलब्ध गराउन पहल थालिएको जन्तेढुङ्गा गाउँपालिकाले जनाएको छ ।

अस्पताल निर्माणका लागि कम्तिमा पनि ३५ रोपनी जग्गा आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले प्राथमिक स्वास्थ्य केन्द्र रहेको ठाउँमा नौं रोपनी मात्र जग्गा रहेकाले अन्य ठाउँमा निःशुल्क खोज्ने काम भइरहेको गाउँपालिका प्रमुख शंकरबहादुर राईले जानकारी दिनुभयो ।

अस्पतालका लागि आवश्यक जग्गा उपलब्ध भएलगत्तै यसै वर्षबाट भौतिक निर्माणको काम थालिने जनाइएको छ । अस्पताल सञ्चालन भएपछि आफूहरुले लामो समयदेखि भोग्दै आएको स्वास्थ्य समस्या समाधान हुने स्थानीयको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्