
२० पुस २०७५, सुनसरी
सर्वाधिक पुरस्कार राशि भएको दोस्रो सभामुख कप राष्टिय पुरुष भलिबल प्रतियोगिता आजदेखि इटहरीमा सुरु भएको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वावारीकलाल चौधरीले उद्घाटन गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै मेयर चौधरीले इटहरीलाई खेलकुदको हब बनाउने प्रयासमा रहेकाले यस्ता खालका खेल कार्यक्रमले हब बनाउन सहयोग गर्ने बताएका छन् ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष मनोरञ्जन रवण शर्माले खेलको इतिहासको बारेमा प्रष्ट्याउदै नेपालले भलिबलमा गरेको उपलब्धिको बारे जानकारी गराएका थिए । उनले यो समयमा भलिबलले देशमा निकै फड्को मारेको बताए ।
कार्यक्रमको उद्घाटन सँगै आज ४ वटा खेल भएका छन् । पहिलो खेलमा नेपाल पुलिस क्लबले प्रदेश नं ३ लाई २५–१२, २५–१४ र २५–१५ को सेटमा हराएको छ भने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई २५–१२, २५–१३ र २५–१२ को सेटमा पराजित गरेको छ । त्यस्तै आजै भएको अर्को खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रदेश नं ३ लाई नै २५–१५, २५–१४ र २५–१५ को सेटमा हरायको छ भने गण्डकी प्रदेश र प्रदेश नं १ लाई ३– २ को सेटमा हराएको छ ।
खेलकुद परिषद् काठमाण्डौको आयोजना र सुनसरी खेलकुद विकास समितिको संयोजमा सुरु भएको खेल आगामी २३ गतेसम्म चल्ने छ । ३ विभागीय टोली र ७ प्रदेशका ७ टिम सहित १० टोलीको सहभागिता रहेको प्रदेश नं १ रेफ्री एसोसिएसनका अध्यक्ष विनय राईले जानकारी दिनुभयो । खेलमा प्रथम हुनेले रु ४ लाख द्धितिय हुनेले रु २ लाख र तेस्रो हुनेले रु १ लाख नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।





