
१८ पुस २०७५, इटहरी
इटहरी उपमहानगरपालिकाले कृषकका समस्या सुनेर तत्काल समाधान गर्न ‘मेयर सँग कृषक’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषकका समस्या सुनेर समाधानका लागि पहल गर्न महिनामा एक दिन कृषकसँग अन्तरक्रिया गर्न लागिएको नगरप्रमुख द्वारिकलाल चौधरीले जानकारी दिए ।
कहिलेदेखि, कसरी र कुन दिन ‘मेयर सँग कृषक’ कार्यक्रम गर्ने चाडै तय गरिने प्रमुख चौधरीले बताए ।
यता कार्यक्रम सञ्चालनको चर्चासँगै कृषकमा उत्साह देखिएको छ । इटहरीका अगुवा कृषक वासु ढकालले यो कार्यक्रम कृषकका लागि प्रभावकारी हुने बताए । सर्वसाधारण कृषकले स्थानीय सरकार सँग आफ्ना समस्या राखेर ती समस्या समाधान हुन सके त्यो फलदायी हुने ढकालको भनाई छ । वास्तविक कृषकको पहुँच सरकार सँग नपुग्दा समस्या भइरहेको उनको तर्क छ । यसैबिच इटहरीका विभिन्न पाँच ठाउँमा कृषि गोष्ठी समेत गरिने भएको छ । प्रत्येक गोष्ठीमा पचास जना कृषकको सहभागिता रहने इटहरी उपमहानगरपालिकाले बताएको छ ।
गोष्ठीमा विशेषगरि पशुको पोषण, रोग, उपचार र पशुविमाका बारेमा छलफल गरिने छ । पशुविमा गर्दा कृषकलाई फाइदा पुग्ने भए पनि घेरै कृषकलाई यस बारेमा जानकारी नै नभएको अगुवा कृषक वासु ढकालले बताए । उनका अनुसार सरकारको ७५ प्रतिशत र कृषकको २५ प्रतिशत लगानीमा नै पशु विमा हुन्छ ।





