विद्यार्थीले बोक्ने किताबको भारी ओराल्न इनरूवा नगरपालिका सक्रिय



१८ पुस २०७५, काठमाडौं

निजी विद्यालयले विद्यार्थीलाई बोकाउने भारी ओराल्न इनरुवा नगरपालिकाले कदम चाल्ने भएको छ । इनरूवा नगरपालिकाभित्र संचालनमा रहेका विद्यालयहरूले विद्यार्थीलाई बोझिलो हुने गरी किताबको भारी बोकाउन नपाउने नियम बन्ने भएको हो । नगर शिक्षा समन्वय इकाईको निर्णय अनुसार निजी विद्यालयका हकमा उक्त निर्णय कार्यान्वयनमा ल्याउन लागिएको बताईएको छ ।

इनरूवा नगरपालिकाका प्रमुख राजन मेहताका अनुसार नगरभित्र संचालनमा रहेका सबै विद्यालयका लागि नियम अनिवार्य गरिएको छ । संस्थागत विद्यालयले आफू पायकका किताब पाठ्यक्रममा समावेश गर्ने र विद्यार्थीहरूलाई बोझिलो हुने गरी भारी बोकाउने परिपाटीको अन्त्य गर्न लागिएको नगर प्रमुख मेहताले बताए । पठनपाठनमा ल्याइने पाठ्यपुस्तक नेपाल सरकारले तोकेको परिधिभित्र रहेको हुनुपर्ने समेत मेहताले स्पष्ट पारे ।

त्यसैगरी इनरूवा नगरपालिकाले नगरभित्र संचालनमा रहेका निजी विद्यालयले संचालनमा ल्याएका सवारी साधनमा एकरूपता ल्याउन पहेंलो रङ्ग अनिवार्य गरेको छ ।

विद्यार्थी बोक्न प्रयोग हुने सवारीसाधनका चालक दक्ष र अनुभवी हुनुपर्ने र शहर बजारसहित भिडभाड हुने स्थानमा गति सीमित गरी सवारी चलाइनुपर्ने समेत बाध्यकारी नियम लागु गर्न लागिएको छ ।

स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार गाउँपालिका वा नगरपालिकाको नीति,  कानून,  बनाउने अधिकार स्वयम स्थानिय तहलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्