तमु प्ये ल्हु संघ, न्युयोर्क, अमेरिकाले फो-लोसार भब्य रुपमा मनायो



१८ पुष २०७५,  न्युयोर्क

तमु प्ये ल्हु संघ, न्युयोर्क, अमेरिकाले यहि डिसेम्बर २९ मा फो-लोसार कार्यक्रम भब्य रुपमा आयोजना गरेर मनाएको छ ।

न्युयोर्कको वुडसाइड स्थित गुलशन टेरेसमा आयोजना गरिएको लोसार कार्यक्रमका प्रमुख अतिथि गैर आवासीय नेपाली संघ अमेरिकाका महासचिब बाबुराम लामा थिए । प्रमुख अतिथि लामाको बाहुलीबाट फो-लोसार कार्यक्रम तमु संस्कृति अनुसार बती बालेर उद्घाटन गरिएको थियो ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को निवर्तमान अध्यक्ष लुईसाङ वाईवा तामाङ, तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङ, तामाङ समाज अमेरिकाका संरक्षकद्वय भरत लामा र शान्त थोकर आमन्त्रित अतिथिहरु थिए । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) लगायत विभिन्न संघसंस्थाहरुलाई कार्यक्रममा निमंत्रना गरिएको कार्यक्रमका संयोजक तथा द्वितीय उपाध्यक्ष युवराज तमु (गुरुङ) ले बताएका छन् ।

सांस्कृतिक कार्यक्रम शुरु हुनु भन्दा अगाडी तमु संस्कृति अनुसार क्लेप्री चिबा (बोन धर्मगुरु), कुमबहादुर तमु (गुरुङ) ले सहभागीहरुलाई रुपा लगाएर आशिर्वाद दिएका थिए । विभिन्न तमु सांस्कृतिक नृत्यहरु कार्यक्रममा प्रस्तुत गरिएको थियो । कार्यक्रमको अध्यक्षता तमु प्ये ल्हुका अध्यक्ष डी.बि. तमु (मिलन) ले गरेका थिए भने महासचिव नन्द तमु (गुरुङ) ले कार्यक्रम संचालन गरेका थिए । त्यसैगरेर प्रथम उपाध्यक्ष तेज बहादुर तमु (गुरुङ) ले स्वागत मन्तब्य दिएका थिए । प्रमुख अतिथि गैर-आवासीय नेपाली संघका महासचिव बाबुराम लामाले सम्पूर्ण तमुहरुलाई फो-लोसारको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्