
१७ पौष २०७५, काठमाडौं
भारतमा भएको टिआई ओपन तेस्रो अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ७ स्वर्ण पदक जितेको छ । भारतको कोलकातामा गत २८ डिसेम्बरदेखि सुरु च्याम्पियनसिपमा नेपालले पुम्सेमा तीन र ग्यरोगीमा ४ स्वर्ण जित्न सफल भएको बताईएको छ ।
फाईटतर्फ जुनियर ५३ केजीमुनि विजय गुरुङ, क्याडेट ३६ केजीमुनि रक्षा बुढाथोकी, २२ केजीमुनि विपिसा केसी र ४६ केजीमुनि अलिसा दनुवारले स्वर्ण पदक जित्न सफल भए । पुम्सेटतर्फ रोशन खान, हिमलाल बेलबासे र निसा श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाए ।
सन्चिता थापामगर भने कांस्य पदकै सीमित भइन् । नेपाली टोलीको प्रशिक्षकमा सन्जय विश्वकर्मा, अजय नेपाली, राजेशकुमार तामाङ, मेलिना गुरुङ र दीपनारायण चौधरीले नेपाली टोलीको प्रशिक्षण समालेका थिए ।
च्याम्पियनसिपमा प्रकासमान राजभण्डारी र सुनीलबहादुर आलेमगरले निर्णायकको भूमिका निर्वाह गरेको नेपाली टोलीकी व्यवस्थापक उमा अधिकारीले जानकारी दिइन् ।





